लामाचौर तीज महोत्सव स्थगित, राहत कोषमा १ लाख ११ हजार १ सय ११ सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १५ भदौ,

नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आफ्नो २८औँ संस्करणको लामाचौर तीज महोत्सव २०८३ तथा लामाचौर कप खुला पुरुष भलिबल र अन्तरमावि छात्रा भलिबल प्रतियोगितालाई स्थगित गरेको छ । देश विनाशकारी बाढीबाट प्रभावित भएका बेला आफुहरुले बर्षेनी गर्दै आएको उक्त महोत्सव सहितका विभिन्न कार्यक्रम स्थगित गरिएको समाजका अध्यक्ष ई.दिनेश भण्डारीले पोखराक्लिकलाई बताउनु भयो ।

भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, धादिङ, नुवाकोटलगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि मुलुक शोकमा रहेको भन्दै संस्थाले निर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको उहाँले जनाउनु भयो । मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले लामाचौरमा हरेक वर्ष तीज महोत्सव आयोजना गर्दै आएको संस्थाले यस वर्ष आफ्नो गौरवमय ३०औँ वार्षिकोत्सव समारोहअन्तर्गत तीज महोत्सव, लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिता, अन्तरमावि छात्रा भलिबल प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको थियो।

तर, प्राकृतिक विपत्तिले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि देश नै शोकमा रहेको अवस्थामा उत्सव मनाउनु उपयुक्त नहुने निष्कर्षसहित कार्यक्रम स्थगित गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो। महोत्सव सञ्चालनका लागि हालसम्म संकलन भएको केही रकम र तीज महोत्सव अक्षयकोषबाट प्राप्त ब्याज रकमसमेत जोडेर एकमुष्ट रु। १ लाख ११ हजार १ सय ११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको अध्यक्ष भण्डारीले बताउनु भयो । अध्यक्ष भण्डारीले विपत्तिका बेला गरिएको सहयोग रकम ठूलो नभए पनि देशलाई दुःख परेको समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता र सद्भाव प्रकट गर्ने संस्थाको सानो प्रयास भएको बताउनुभयो।

बाढीपीडितको उद्धार तथा राहतमा अहोरात्र खटिएका सुरक्षा निकाय, स्थानीय बासिन्दा तथा स्वयंसेवकहरूप्रति संस्थाले उच्च सम्मानसमेत व्यक्त गरेको छ। नव आदर्श सामुदायिक विकास समाजले मौलिक संस्कृतिको संरक्षणसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि समुदाय, शुभेच्छुक तथा सहयोगीहरूको साथ र सद्भावबाट सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने संस्थाकी सचिव शोभा बानियाँले बताउनु भयो । सामाजले एम्बुलेन्स तथा शव वाहान सेवा संचालन गर्दै आएको छ ।



This will close in 20 seconds