
दीननाथ बराल,
पोखरा, भदौ १५,
रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि कास्की माछापुच्छ्रे गाउँपालिका–सार्दीखोलामा रहेको गण्डकी रेन्वो ट्राउट फार्म एवं सञ्चालकद्वय अमृत गुरुङ र लक्षिन गुरुङले ५ लाख २० हजार ५०५ रुपैयाँ सहयोग गरेका छन्।

फार्मले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख ५ हजार रुपैयाँ तथा फार्ममा कार्यरत कर्मचारीहरूले १५ हजार ५०५ रुपैयाँ गरी कुल ५ लाख १६ हजार ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। भदौ १० गते रसुवागढीलगायत विभिन्न जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै फार्मले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको फार्म संचालक मध्य एक अमृत गुरुङले बताए । गण्डकी रेन्वो ट्राउट फार्मका सञ्चालक मध्य अर्को लक्षिन गुरुङले देश दुःखमा परेको समयमा राज्यले अघि बढाएको राहत तथा उद्धार अभियानमा आफ्नो तर्फबाट सकेको सहयोग गरिएको बताए।
“देशलाई दुःख परेको बेला राज्यको अभियानमा साथ दिनु र पीडित नागरिकको घाउमा मलम लगाउनु हामी सबैको दायित्व हो। हाम्रो सहयोग सानो भए पनि विपद्मा परेका परिवारका लागि केही राहत पुग्ने विश्वास गरेका छौँ,” सञ्चालकद्वय गुरुङले भने। उनीहरूले विपद्को समयमा सबै नेपाली एकजुट भएर प्रभावित नागरिकको साथमा उभिनुपर्नेमा जोड दिएका छन्। देशमा परेको दुःखलाई साझा दुःखका रूपमा लिएर उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।
“यो विपद्को बेला हामी सबै नेपाली एक हुनुपर्छ। हाम्रो देशमा परेको दुःखमा सबै नेपालीले साथ र सहयोग गर्नुपर्छ,” उनीहरूले भने। बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघसंस्थाबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम बढिरहेको छ। गण्डकी रेन्वो ट्राउट फार्मको यो सहयोगले व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देशसमेत दिएको स्थानियले बताए ।




