बैठक भत्ता सहयोग गर्दै जिल्ला खेलकुद विकास समिति कास्कीबाट राहत कोषमा एक लाख सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


पोखरा,

जिल्ला खेलकुद विकास समिति कास्कीले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ । समितिका अध्यक्ष मिलन गुरुङ सहितको टोलीले आव (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई राहत रकम जम्मा गरिएको भौचर हस्तान्तरण गरेको हो ।

समितिका अध्यक्ष गुरुङका अनुसार पदाधिकारी तथा सदस्यहरूबीचको सहमतिअनुसार समितिको एक वर्षको सम्पूर्ण बैठकबाट प्राप्त हुने बैठक भत्ता रकम राहतका लागि सहयोग गर्ने निर्णय गरिएको हो। सोही निर्णयअनुसार बैठक भत्ताबाट प्राप्त रकमलाई बाढी प्रभावितको सहयोगमा लगाइएको अध्यक्ष गुरुङले बताउनुभयो। “समितिका पदाधिकारी तथा सदस्यहरूबीचको सहमतिअनुसार बैठक भत्ताबाट प्राप्त हुने रकम सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकको सहयोगमा प्रदान गरेका हौं,” अध्यक्ष गुरुङले भन्नुभयो।

जिल्ला खेलकुद विकास समिति कास्कीले राहत सहयोगसँगै पोखरा रंगशालाको संरक्षण, सरसफाइ तथा भौतिक संरचनाको सुधारलाई समेत प्राथमिकतामा राख्दै आएको छ । अध्यक्ष गुरुङको नेतृत्वमा समितिले रंगशाला परिसरमा नियमित सरसफाइ, वृक्षरोपण तथा रंगशालाका भौतिक संरचनाको मर्मत–सम्भारमा विशेष ध्यान दिँदै आएको छ। खेलकुद क्षेत्रको विकाससँगै खेलाडी, खेलप्रेमी तथा आम नागरिकका लागि आवश्यक पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले रंगशालाको संरक्षण र सुधारका कामलाई निरन्तरता दिइएको समितिले जनाएको छ। समितिका अध्यक्ष गुरुङ लगायत पदाधिकारी तथा सदस्यहरूको सक्रियतामा रंगशालाको सरसफाइ, हरियाली प्रवद्र्धन र भौतिक संरचनाको संरक्षणमा समेत जोड दिइएको छ । राहत सहयोगदेखि खेलकुद पूर्वाधारको संरक्षणसम्मका गतिविधिमार्फत जिल्ला खेलकुद विकास समिति कास्कीले आफ्नो सामाजिक दायित्व र खेलकुद क्षेत्रप्रतिको जिम्मेवारीलाई एकसाथ अघि बढाएको कार्यालय प्रमुख डिबी नेपालीले पोखराक्लिकलाई बताउनु भयो ।