विपदमा पोखराको उदाहरणीय साथ ः नारायण पौडेल नेतृत्वका संस्थाबाट ४१ लाख ११ हजार राहत कोषमा

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


पोखरा,

भोटेकोशी नदीमा आएको आकस्मिक विनाशकारी बाढीले देशभर ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पोखराका सामाजिक तथा व्यावसायिक संस्थाहरूले विपद्मा परेका नागरिकको पीडामा मलम लगाउने प्रयास गरेका छन्। अग्रज व्यवसायी मनका धनि नारायण पौडेल नेतृत्वका अटोवेज प्रा.लि.परिवार, प्रतिभा माध्यमिक विद्यालय पोखरा र गोविन्द–कलावती फाउन्डेसनले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने मानवीय उद्देश्यले अटोवेज प्रा.लि.परिवार तथा त्यससँग सम्बन्धित संस्थाबाट २५ लाख रुपैयाँ, प्रतिभा माध्यमिक विद्यालयको संस्थागत सामाजिक उत्तरदायित्व तथा शिक्षक–कर्मचारीबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र गोविन्द–कलावती फाउन्डेसनबाट ५ लाख रुपैयाँ सहयोग गरिएको सापकोटाले उल्लेख गरे ।

सांसद डा.धनञ्जय रेग्मीको उपस्थितिमा अटोवेज प्रा.लि.का अध्यक्ष नारायण पौडेल र प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । विपद्को पीडामा रहेका नागरिकलाई राहत दिन गरिएको यो सहयोगलाई संस्थाहरूले आर्थिक सहयोगभन्दा माथि उठेर मानवीय दायित्व र सामाजिक उत्तरदायित्वको अभिव्यक्तिका रूपमा लिएको पौडेलले बताए । अध्यक्ष नारायण पौडेलले विपद्का बेला पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताए। उनले कठिन परिस्थितिमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक एकजुट भएर प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नुपर्नेमा जोड दिए। “विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सहयोग मात्र होइन, हाम्रो मानवीय दायित्व र सामाजिक जिम्मेवारी पनि हो,’’ पौडेलले भने।

प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयले संस्थागत सामाजिक उत्तरदायित्वसँगै शिक्षक तथा कर्मचारीको व्यक्तिगत सहभागिताबाट समेत सहयोग जुटाएको बताए। विपद्का बेला समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु विद्यालयको दायित्व भएको उनको भनाइ छ। सहयोगकर्ताहरूले तत्कालको राहत र उद्धारपछि सुरु हुने पुनःस्थापनाको चरणमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाएका छन्। देश दुःखेको बेला पीडितको साथमा उभिनु नै सबैभन्दा ठूलो मानवीय धर्म भएको सन्देश दिँदै पोखराका यी संस्थाहरूले विपद्मा सामाजिक उत्तरदायित्वको एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्।



This will close in 20 seconds