अन्नपूर्ण गाउँपालिकाको ६५ करोडको बजेट, गोठ देखि ओठ सम्म स्वच्छ दुध उत्पादनमा जोड

-


     पोखरा क्लिक     
     असार ११ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ११ असार,

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलवार आयोजित गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले आउँदो बर्षको लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी गर्नु भएको हो ।

चालु वर्षको तुलनामा यसपटकको बजेट भने बढ्त्तरी भएको छ । आउदो बर्षको बजेट चालु बर्षको तुलनामा ७.६४ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षमा ६० करोड ५२ लाख ७५ हजार ३८६ रुपैयाँको बजेट विनियोजन भएकोमा, आगामी वर्षका लागि चालु बर्षको तुलनामा ४ करोड ६२ लाख ५९ हजार बढी बजेट प्रस्ताव गरिएको उपाध्यक्ष अधिकारीले जनाउनु भयो ।

चालु तर्फ ४३ करोड ३२ लाख र पुँजीगत तर्फ २१ करोड ८२ लाख खर्च हुने अनुमान गरिएको उहाँले बताउनु भयो । बजेटका मुख्य स्रोतहरू अन्र्तगत नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानः ११ करोड ५७ लाख, राजस्व बाँडफाँडः ११ करोड ८२ लाख ९८ हजार ७७५, सशर्त अनुदानः २९ करोड ८१ लाख, समपुरक अनुदानः ३ करोड, विशेष अनुदानः २ करोड ५५ लाख, गण्डकी प्रदेशबाट प्राप्त बाँडफाँड र अनुदानहरूः झण्डै ४ करोड, आन्तरिक आम्दानीः ३ करोड हुने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ ।

चालु बर्षको हालसम्म प्रगति ७२.१५% बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले बताउनु भयो । चालुतर्फ खर्चः ७६.४२% र पुँजीगततर्फ खर्चः ६१.९७% गरी हालसम्म ५७ करोड ३३ लाख ७६ हजार ५११ रुपैयाँ खर्च भएको उहाँले दाबी गर्नुभयो । अध्यक्ष विष्णुबहादुर केसीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । “कृषि, पर्यटन, उर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार” भन्ने मूल नारा सहित आगामी वर्षको खाका तयार पारिएको उहाँले जनाउनु भयो ।

गोठ देखि ओठ सम्म स्वच्छ दुध उत्पादन तथा उपयोगका लागि कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । मुख्य प्राथमिकतामा परेका क्षेत्रहरू यसप्रकार छन् । कृषि र पशुपालनमा जोड, जैविक प्रविधिको प्रयोग, कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण, कृषि पर्यटन र व्यावसायिक कृषि प्रवद्र्धन, स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन, अन्नपूर्ण अस्पतालमा विशेषज्ञ सेवा, “स्वच्छ बस्ती, स्वच्छ जीवन” अभियान, विद्यालय सुधार, छात्रावास तथा यातायात सुविधा, “पढ्दै कमाउँदै” कार्यक्रम सञ्चालन, सडक स्तरोन्नति, पक्की ढलान, गोरेटो र झोलुंगे पुल, खानेपानीको पहुँच, हरेक घरमा धारा जडान, पर्यटकीय सम्भावनाको व्यवस्थापन, साहसिक खेलकुद, मौलिक कला–संस्कृतिको संरक्षण, महिला, दलित, जेष्ठ नागरिक, अपाङ्ग वर्गको उत्थान र सामाजिक सुरक्षा, सेवा प्रवाहमा पारदर्शिता र सहजता, सूचना प्रविधिको प्रयोगद्वारा दक्षता वृद्धि गर्ने बजेटमा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रम पारित भए पश्चात बजेट प्रस्तुत भएको गाउँपालिकाको प्रवक्ता भरतमान गुरुङले बताए । गाउँसभामा नेपाल सरकारका सहसचिव विनोद कुँवरको विशेष उपस्थिति रहेको थियो।