विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा, द्धन्द्धपीडितको पिडा बुझ्ने सरकार कहिले आउला ? अधिकार सहितको परिचय पत्र माग गर्दै पिडितहरु

-


     पोखरा क्लिक     
     मंसिर ५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल
पोखरा ५, मंसिर,

विस्तृत शान्ति सम्झौता भएको १८ बर्ष पूरा हुदा पनि कास्कीका द्धन्द्धपीडितले न्याय नपाएको गुनासो गर्नु भएको छ । विस्तृत शान्ति सम्झौता भएको १८ बर्षः ५ मंसिर २०८१ न्याय प्राप्ती कहिले ? भन्ने बिषयमा बुधबार पोखरामा आयोजित छलफल कार्यक्रममा पिडितहरुले १० वर्षे सशस्त्र द्धन्द्धका क्रममा राज्य पक्ष र विद्रोही पक्ष नेपाल कम्युनिष्ट पाटी (माओबादी) बाट पीडित भएकोमा हालसम्म न्यान नपाएको गुनासो गर्नु भएको हो ।

पिडितहरुले हालसम्म कुनै सरकारले पनि आफुहरुको माग पूरा गर्न नसकेकोमा गुनासो गर्दै आफुहरुको पिडा पोख्दा पोख्दै हार खाई सकेको भावुक हुदै गुनासो गर्नु भयो । द्धन्द्धमा आफ्नो श्रीमान गुमाउनु भएको कुश्मा पर्वतकी कल्पना सुवेदीले १५ बर्ष देखि न्यायको पखाईमा बस्दा बस्दै आफ्ना सासु तथा ससुरा समेत गुमाई सकेको अबस्थामा कहिले न्याय पाइन्छ सरकार भनेर सरकार माथि प्रश्न गर्नु भयो । आफुहरुलाई अझै पनि ढिलो न्यान्य दिए त्यसको कुनै अर्थ नहुने उहाँको भनाई थियो ।

पोखराको चिप्लेढुंगामा रोहनकुमार श्रेष्ठले फलफुल बिक्री गर्दै गर्दा फागुन २०६२ मा बमको छर्रा लागेर घाइते भई हाल काम गरेर खान नसक्ने अबस्थामा पुगेको गुनासो गर्नु भयो । आफु घाइते भएको स्थानिय रुपमा हालसम्म कसैले पनि प्रमाणित नगर्दा न्यायको लागि सरकारी निकायमा जादा उल्टै थर्कोउने गरेको उहाँले कार्यक्रममा भावुक हुदै गुनासो गर्नु भयो । उहाँलाई हाल उपचारसँगै दैनिक जीवनयापनमा समेत समस्या भएको छ ।

कार्यक्रममा अपांगता भएका द्धन्द्धपीडितहरूको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले देशमा आफुहरु जस्ता पिडित भएर संघियता आए पनि आफुहरुको समस्या जिउका तिउ रहेको गुनासो गर्नु भयो । राजनीतिक कारणले गर्दा द्धन्द्ध सुरु भएको २८ वर्ष र शान्ति सम्झौताको १८ वर्ष पुग्दा समेत आफुहरूले परिवर्तन गर्ने गरी कुनै सरकारले व्यबस्था गर्न नसकेको गुनासो गर्नु भयो । अध्यक्ष खत्रीले न्यायको आसमा बसेका घाइते, बेपत्ता, अपांगता भएका परिवारका बुबाआमाहरु मध्य कति पयको न्यायको पखाईमा आँसु पोख्दा पोख्दै मृत्यु समेत भएको दाबी गर्नु भयो ।
तत्कालिन अबस्थामा ६ महिनाभित्र राहत तथा परिपुरण उपलब्ध गराउने गरि शान्ति सम्झौता भएको आज (बुधबार) १८ वर्ष पुगेको छ । १ फागुन ०५२ देखि सुरु भएको द्धन्द्ध समाप्त गर्दै तत्कालिन विद्रोही पक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र तत्कालीन सरकारका बिच ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएको थियो ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । ६ महिनाभित्र न्याय दिने भनि सम्झौता गरेको बुधबार १८ वर्ष पुरा भएको छ । विहिबार देखि १९ वर्ष लाग्दैे छ तर पीडितको समस्या भने जिउका तिउ छ । अपाङ्गता भएका द्धन्द्ध पीडितहरूको राष्ट्रिय सञ्जाल, न्यायका लागि द्धन्द्धपीडित समाज, बेपत्ता योद्धा परिवार समाज, इन्सेक गण्डकी, द्धन्द्धपीडित राष्ट्रिय सञ्जाल, एड्भोकेसी फोरम, यातना पीडित सरोकार समाज लगायतका सरोकारवाला संघसंस्थाहरुले संयुक्त रुपमा पोखरामा कार्यक्रम आयोजना गरिएको इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले जनाउनु भयो । पिडितलाई न्यान दिन अझै पनि बखरदारी गर्न आवश्यक भएको बताउनु भयो ।

बेपत्ता परिवारका केदार आर्चायले २३ वर्षदेखि आफ्ना भाइ परिवारले कुरेर बसेको गुनासो गर्दै आफ्ना भाई सहित यस क्षेत्रबाट २६ जना वेपक्ता भएको बताउनु भयो । २०६२ मा गोली लागेकी लिला गुरुङ हाल खुट्टाले काम नगर्ने र जीवन यापन गर्न कठिन भएको अबस्थामा पुगेको दुखेसो गर्नु भयो । परिवारमा एक्लो भयर ले यत्रो समय बितिसक्दा पनि राज्यबाट कुनै सहयोग नपाएको उहाँको गुनासो थियो । अर्की पीडित जुना केसीले सरकराले पीडितहरुको लागि मलम लगाउने गरी काम गर्न आग्रह गर्नु भयो ।

एड्भोकेसी फोरम कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता हरि सुवेदीले सरकारले गत चैतमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोग गठनका लागि पदाधिकारी छनौट गर्न सिफारिस समिति गठन गरेर आवश्यक प्रक्रिया अगाडि बढाएकाले न्याय पाउने आशा जागेको बताउनु भयो । न्याय प्राप्तिका लागि आउदो वर्ष विगत १८ वर्षको जस्तो नभई केही राहत हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले राज्यले यस बिषयमा गम्भिर नहुदा पिडितको समस्या जहाँको तही रहेको दाबी गर्नु भयो ।

कार्यक्रममा एमालेका जीवन आचार्य, माओबादी केन्द्रका विश्व प्रकाश लामिछाने, समाजबादीका श्रीनाथ बराल, राष्ट्रिय मानव अधिकार आयोगकी नितु वर्तौला, शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष विना शिल्वाल लगायतले वोल्दै द्धन्द्ध पिडितलाई परिचयपत्र सहित उचित रोजगारको ग्यारेन्टी गर्न जोड दिनु भयो । बुधबार साँझ शहिद पार्कमा दीप प्रज्वलन समेत गरिएको संयोजक खकुरेलले पोखराक्लिकलाई बताउनु भयो ।