
पोखरा, १० भदौ,
देश विभिन्न स्थानमा आएको प्राकृतिक विपद्को चपेटामा परिरहेका बेला पोखराको सिटिजन फर्निचरले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचरले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
सिटिजन फर्निचरका सञ्चालकमध्ये एक युवा व्यवसायी दीपक कार्कीले देश ठूलो विपद्को सामना गरिरहेका बेला आफ्नो क्षमताअनुसार सानो भए पनि सहयोग गर्ने उद्देश्यले राहत कोषमा रकम प्रदान गरिएको बताउनुभयो । “ भोटेकोशी नदीमा आएको भिषण बाढीबाट ठुलो क्षति भएकोमा दुःख व्यक्त गर्दै उहाँले हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ । हाम्रो सहयोग सानो भए पनि अहिलेको अवस्थामा पीडित नागरिकको राहत र उद्धारमा केही योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ,” कार्कीले भन्नुभयो । नागरिकको जीवनरक्षा, तत्काल उद्धार र राहतलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको बताउनुभयो । “अहिले सबै मिलेर उद्धार र राहतमा जुट्नुपर्ने समय हो । विपद्को घडीमा पीडित परिवारलाई सकेको सहयोग गर्नु हरेक नागरिक तथा व्यवसायीको दायित्व पनि हो,” कार्कीले भन्नुभयो ।
सिटिजन फर्निचरले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ । कम्पनीले यसअघि कोरोना महामारी (कोभिड–१९) को समयमा समेत विभिन्न प्रकारका राहत तथा सहयोग उपलब्ध गराएको थियो । त्यसयता विभिन्न आपत् तथा विपद्का समयमा समेत आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको कार्कीले बताउनुभयो । व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभई समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने माध्यमसमेत भएकाले विपद्को समयमा निजी क्षेत्रले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।





