कांग्रेसको १५औँ महाधिवेशनमा युवा ठाकुर बरालको कास्की–३ बाट ३५ वर्षमुनिको प्रतिनिधित्वको दाबी

-


     पोखरा क्लिक     
     असाेज ८ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं.३ बाट ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि युवा नेता ठाकुर बरालले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गर्नुभएको छ। ‘युवा शक्ति र परिवर्तनका एजेन्डा लिएर अगाडि बढौँ’ भन्ने नारासहित बरालले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि सार्नुभएको हो।

पार्टीभित्र नयाँ पुस्ताको सहभागिता र उपस्थिति बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफ्नो राजनीतिक यात्रालाई नीतिगत सुधार, नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणसँग जोड्नुभएको छ। बरालले युवालाई पार्टीको संगठनमा मात्र होइन, नीति निर्माण र निर्णय प्रक्रियामै अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने धारणा राख्नुभएको छ। उहाँका अनुसार बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिवेशअनुसार नेपाली कांग्रेसले पनि आफ्नो संगठन, कार्यशैली र नीतिमा समयानुकूल सुधार गर्दै अघि बढ्न आवश्यक छ।

राष्ट्रिय लोकतन्त्रलाई थप सुदृढ गर्दै समृद्धिको लक्ष्य हासिल गर्न नेपाली कांग्रेसले नयाँ पुस्ताको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई उपयोग गर्नुपर्ने उहाँको भनाइ छ। युवा पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै बरालले अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा बीचको समन्वयबाट पार्टीलाई थप गतिशील बनाउन सकिने बताउनुभएको छ। उहाँले अग्रजहरूको योगदान र संघर्षबाट प्राप्त राजनीतिक अनुभवलाई सम्मान गर्दै त्यसबाट सिकेर नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिनुभएको छ।

“युवा शक्ति र परिवर्तनका एजेन्डा लिएर अगाडि बढौँ” भन्ने मूल भावका साथ अघि बढेका बरालले कांग्रेसलाई समयअनुकूल र जनमुखी बनाउने बहसमा युवाको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्न आफूले भूमिका खेल्न चाहेको बताउनुभएको छ। उहाँको उम्मेदवारीको मुख्य जोड युवाको सहभागिता, नेतृत्व हस्तान्तरण, नीतिगत सुधार र संगठनको रूपान्तरणमा केन्द्रित रहेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न तहमा युवा पुस्ताबाट नेतृत्वका आकांक्षाहरू सार्वजनिक हुन थालेका छन्।