
कास्की,
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु २० लाख ५२ हजार ६८० सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज (शनिबार) बसेको गाउँ कार्यपालिका बैठकले बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट रु ७३ हजार ९००, कर्मचारीबाट रु ५ लाख १४ हजार ७७३, गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट रु १३ लाख ६१ हजार ७ र राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सञ्जालबाट रु १ लाख ३ हजार संकलन गरी राहत कोषमा जम्मा गरिनेछ ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेकोप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । विपद्को यस कठिन घडीमा मानवीय तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न गाउँपालिकाले सबैमा अपिलसमेत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले विपद्बाट प्रभावित परिवारको पीडा कम गर्न सक्दो सहयोग आवश्यक रहेको बताउँदै सामूहिक प्रयासबाट मात्रै राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सकिने बताउनुभएको छ ।





