गण्डकी खेलकुद परिषद्को पदक वितरण विवादमा, सिफारिस समिति र परिषद्को मतभेद

-


     पोखरा क्लिक     
     श्रावण २० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, साउन २०,

गण्डकी प्रदेश खेलकुद परिषद्ले गत असार ३० गते वितरण गरेको ‘प्रदेश खेलकुद पदक’ प्रक्रिया विवादमा परेको छ । पदक वितरणमा सिफारिस समितिको निर्णयविना पुरस्कार प्रदान गरिएको, सिफारिस समितिकै सदस्य तथा पदाधिकारीहरूलाई पुरस्कार दिइएको र प्रक्रियागत पारदर्शिता कायम नगरिएको आरोप उठेपछि खेलकुद क्षेत्रका सरोकारवालाबीच प्रश्नहरू उठ्न थालेका छन्।

यद्यपि परिषद्ले भने सिफारिस समितिको सिफारिस र बोर्डको निर्णयअनुसार नै पदक वितरण गरिएको दाबी गरेको छ । परिषद्ले खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, अन्तर्राष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन र असिम शेरचन, प्रशिक्षकतर्फ क्रिकेटका रिजन प्रजु तथा संघसंस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई प्रदेश खेलकुद पदक प्रदान गरेको थियो । त्यस्तै, सर्वोत्कृष्ट प्रदेश खेल संघका रूपमा गण्डकी प्रदेश टेनिस संघलाई एक लाख २० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो भने उत्कृष्ट खेल संघका रूपमा गण्डकी प्रदेश ह्यान्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई जनही ९० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सिफारिस समितिको असन्तुष्टि

पदक सिफारिस समितिका संयोजक मदन केसीले समितिले अन्तिम निर्णय वा सिफारिस नै नगरेको दाबी गरेका छन् । उनका अनुसार समितिले प्राप्त आवेदनहरूको प्रारम्भिक अध्ययन मात्र गरेको थियो । “हामीले १८ वटा आवेदनमध्ये १३ जनाको प्रारम्भिक सूची तयार गरेका थियौं, आवेदन संख्या कम भएकाले पुनः ३५ दिनका लागि आवेदन खुलाउन आग्रह गरेका थियौं। तर हामीलाई जानकारी नै नदिई हतार हतारमा पदक वितरण गरिएछ । ”उनले भने। केसीका अनुसार पदक वितरण कार्यक्रमको औपचारिक जानकारीसमेत समितिलाई नदिइएको र समितिको सिफारिस बिनै पुरस्कार वितरण गरिएको प्रति समितिले आपत्ति जनाएको छ । खेलकुद पत्रकारिता विधामा सम्मानित केशव पाठक पदक सिफारिस समितिका आमन्त्रित सदस्य थिए । उनी परिषद्का पूर्व बोर्ड सदस्य, तत्कालीन निमित्त सदस्य सचिव तथा हाल परिषद्का सल्लाहकार र संघसंस्था समन्वय समितिका संयोजक समेत हुन् ।

बैठकको मितिमै प्रश्न

परिषद्का सदस्य सचिव श्रीधर शर्माले भने पदक वितरण प्रक्रिया विधिसम्मत रहेको दाबी गरेका छन् । उनका अनुसार पदक सिफारिस समितिले विभिन्न मितिमा बैठक बसेर नाम सिफारिस गरेपछि परिषद्को बोर्ड बैठकले निर्णय गरी पदक वितरण गरेको हो । तर समितिका संयोजक केसीले सदस्य सचिवले उल्लेख गरेका बैठकमध्ये केही बैठक नै नबसेको दाबी गरेका छन्। उनले विशेषगरी उल्लेख गरिएका केही मितिमा देशव्यापी आन्दोलन र सार्वजनिक कार्यालयहरू बन्द रहेको अवस्थाका कारण बैठक बस्न नसकेको बताएका छन् ।

परिषद्को स्पष्टीकरण

सदस्य सचिव शर्माले पहिलो पटक प्रदेशस्तरमा यस्तो पदक वितरण गर्दा केही प्रक्रियागत कमजोरी हुन सक्ने स्वीकार गरे । तर उनले कुनै बदनियत नरहेको जिकिर गर्दै पत्रकारिता विधामा दुईवटा मात्र आवेदन परेको र मूल्याङ्कनका आधारमा केशव पाठकलाई छनोट गरिएको बताए । उनले आगामी वर्षहरूमा देखिएका कमजोरी सुधार गर्दै अझ व्यवस्थित रूपमा पदक वितरण गरिने बताए ।

केशव पाठकको भनाइ

खेल पत्रकार तथा परिषद्का सल्लाहकार केशव पाठकले आफू अन्तिम समयमा पुरस्कारका लागि छनोट भएको जानकारी पाएपछि मात्र कार्यक्रममा सहभागी भएको बताए । उनले आवेदन संख्या कम भएकाले पुनः आवेदन खुलाउने विषयमा समितिमा छलफल भएको जानकारी आफूलाई रहे पनि परिषद्ले त्यससम्बन्धी सूचना प्रकाशित ग¥यो वा गरेन भन्नेबारे आफू अनभिज्ञ रहेको बताए ।

मन्त्री र मन्त्रालयको प्रतिक्रिया

गण्डकी प्रदेशकी सामाजिक विकास तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रक्रिया विपरीत पदक वितरण भएको पुष्टि भए छानबिन गरी दोषीमाथि कारबाही गरिने बताइन् । “परिषदमा विवादित निर्णय र काम भएका भन्ने कुरा सुन्दै आएकी थिएँ । यदि प्रक्रियाविपरीत काम भएको पुष्टि भयो भने आवश्यक छानबिन गरी कानुनअनुसार कारबाही हुन्छ ।” उनले भनिन् । साथै उनले यस्ता विषयमा सञ्चारमाध्यमले तथ्यसहित खबरदारी गरिरहन आग्रह पनि गरिन् । सामाजिक विकास तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले आफूहरू छात्रवृत्ति वितरण कार्यक्रम हुने जानकारीका आधारमा कार्यक्रममा पुगेको तर त्यहाँ पदक वितरण भएको देखेर आश्चर्यमा परेको बताए । “यदि पदक वितरण गर्ने निर्णय थियो भने मन्त्रीस्तरीय निर्णय हुनुपथ्र्यो, हामीलाई जानकारी नै नदिई निर्णय भएको देखियो, यो कस्तो पदक हामी हलमलमा पर्यो, सानो हलमा यत्रो कार्यक्रम ।” उनले भने । उनले यस्ता विषयमा प्रक्रियागत स्पष्टता र जवाफदेहिता आवश्यक रहेको पनि बताए ।

१८ वटा आवेदन परेको थियो

प्रदेश खेलकुद पदकका लागि कुल १८ वटा आवेदन परेका थिए । आवेदन दिनेमा असिम शेरचन, नियो मिडिया हाउस, योगेन्द्र शेरचन, सुजन गुरुङ, सचिन विक, प्रतिक्षा राना, शुभम गुरुङ, हरिप्रसाद पराजुली, सुस्मिता थापा मगर, हरिप्रसाद बरुवाल, तिलकराम थारु, देवेन्द्र गुरुङ, एरिका राणा, केशव पाठक, बोधराज गिरी, अरुणा शाही, रिजन प्रजु तथा नेपाल भूतपूर्व खेलाडी मञ्च रहेका थिए । पदक वितरण प्रक्रियाबारे उठेका प्रश्न र परिषद्को स्पष्टीकरणपछि प्रदेश खेलकुद परिषद्को पुरस्कार छनोट प्रक्रिया, सिफारिस प्रणाली तथा पारदर्शिताबारे थप बहस सुरु भएको छ । अब यस विषयमा सम्बन्धित निकायले गर्ने छानबिन र त्यसको निष्कर्षलाई खेलकुद क्षेत्रले चासोका साथ हेरेको खेलकुदकर्मीको भनाई रहेको छ ।