विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीद्वारा ३१ युनिट रगत संकलन

-


     पोखरा क्लिक     
     श्रावण १९ गते २०८३ मा प्रकाशित


पोखरा,

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीले आफ्नो १४ औँ साधारण सभा तथा ५औँ अधिवेशनको अवसरमा “रक्तदान जीवनदान महादान” भन्ने मूल नारालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। समाजको आयोजनामा पोखरा महानगरपालिका–१५, अलकापुरस्थित समाज भवनमा हालैसञ्चालन गरिएको उक्त कार्यक्रममा ३१ युनिट रगत संकलन भएको समाजले जनाएको छ। कार्यक्रमको संयोजन समाजकी केन्द्रीय सदस्य पद्मा लामगाडेले गर्नुभएको थियो भने अध्यक्षता समाजका अध्यक्ष रणबहादुर रामदामले गर्नुभएको थियो। कार्यक्रममा पोखरा महानगरपालिका–१५ का वडा अध्यक्ष तोरणबहादुर बनियाँ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

अधिवेशनका अवसरमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरिए पनि रक्तदान कार्यक्रम विशेष आकर्षणको केन्द्र बनेको थियो। विशेषगरी वर्षायाममा दुर्घटनाका कारण रगतको माग बढिरहेको तथा रक्त अभाव देखिएको अवस्थामा समाजले सञ्चालन गरेको यो अभियानलाई जीवन बचाउने महत्वपूर्ण सामाजिक योगदानका रूपमा हेरिएको छ। कार्यक्रमको औपचारिक सञ्चालन समाजका महासचिव लालसिंह घतानेले गर्नुभएको थियो। समाजका सचिव शरणसिंह विश्वकर्माका अनुसार कार्यक्रम सम्पन्न भएको पाँच घण्टाभित्रै संकलित ३१ युनिट रगत नेपाल रेडक्रस सोसाइटी, पोखरा रक्तसञ्चार सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ। समाजले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।