पोखरा क्षेत्रका शिवालय मन्दिरमा तेस्रो सोमबार भक्तजनको बिहानैदेखि घुइँचो

-


     पोखरा क्लिक     
     श्रावण १९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा,

साउन महिनाको तेस्रो सोमबार आज पर्यटकीय नगरी पोखराका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि दर्शनार्थी भक्तजनको उल्लेखनीय भिडभाड भएको छ । भगवान् शिवको विशेष आराधनाको दिन मानिने सोमबारका अवसरमा पोखराको केदारेश्वर महादेव मन्दिर, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति, पशुपतिनाथ मन्दिर, विन्ध्यवासिनी परिसरका शिवालय तथा अन्य शिव मन्दिरमा भक्तजनले पूजा–आराधना तथा जलाभिषेक गर्नु भएको छ ।

बिहानैदेखि पोखरा महानगरका विभिन्न क्षेत्रसहित आसपासका जिल्लाबाट आएका श्रद्धालुहरू मन्दिर पुगेर जल चढाउने तथा पूजा आज गर्ने गर्नु भएको छ । वृद्धवृद्धा, महिला, युवा तथा बालबालिकासमेत हरियो पहिरन, गेरुवा वस्त्र र बोलबमको जयघोषसहित मन्दिर परिसरमा पुग्नु भएको छ । शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो, फूल तथा प्रसाद अर्पण गर्दै भक्तजनले भगवान् भोलेनाथको पूजा–आराधना गर्नु भएको छ । बोलबमधामका रूपमा परिचित बैदामस्थित केदारेश्वर महादेव मन्दिरमा साउन महिनाभर विशेष धार्मिक कार्यक्रम सञ्चालन भइरहेको छ । साउन लागेसँगै पोखराको धार्मिक वातावरण बोलबमको ध्वनि, भजन–कीर्तन र गेरुवा वस्त्रधारी भक्तजनले थप उल्लासमय बनेको देखिएको छ ।

संस्कृतिविद्हरूका अनुसार साउन महिना हिन्दू धर्मावलम्बीका लागि धर्म, आस्था र संस्कृतिको अत्यन्त पवित्र महिना मानिन्छ । विशेष गरी साउनका सोमबार भगवान् शिवलाई जल चढाई व्रत, पूजा र उपासना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । साउन महिनामा हरियो चुरा, हरियो वस्त्र तथा मेहेन्दी लगाउने परम्पराले पनि विशेष महत्व बोकेको विश्वास गरिन्छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिको आयोजनामा साउनका चारै सोमबार सञ्चालन भइरहेको बोलबम पदयात्रा तथा धार्मिक कार्यक्रमअन्तर्गत आज पनि बिहान बगरस्थित शुक्लागण्डकी गाईघाटको १०८ धारामा स्नान गरी करिब ८ किलोमिटर पैदल यात्रा गर्दै भक्तजन केदारेश्वर मन्दिर पुग्नु भएको छ । त्यहाँ १०८ शिवलिङ्गमा जलार्पण, विशेष पूजा, भजन–कीर्तन तथा आरती सम्पन्न गरिएको थियो। कार्यक्रम संयोजक एवं विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालका अनुसार करिब दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको बोलबम पदयात्राले पोखराको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । “बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले“ भन्ने मूल नारासहित सञ्चालन भइरहेको कार्यक्रममा नौमती बाजा, विभिन्न झाँकी, लोकभजन तथा भजन–कीर्तनले धार्मिक वातावरण थप आकर्षक बनेको उहाँले जनाउनु भयो ।

राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्व हिन्दू महासंघको सांस्कृतिक समूह तथा विभिन्न भजन मण्डलीले भजन प्रस्तुति राख्नु भएको थियो । मध्याह्न विशेष षोडशोपचार पूजा सम्पन्न भएको थियो भने साँझ महाआरती र शिव साधनाको कार्यक्रमसमेत आयोजना गरिने समितिले जनाएको छ । मन्दिरमा आएका दर्शनार्थीका लागि विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी व्यक्तिहरूको सहकार्यमा निःशुल्क फलफूल, पानी, रोटी–तरकारी तथा खिर वितरण गरिएको थियो। स्थानीयका अनुसार साउनका प्रत्येक सोमबार केदारेश्वर मन्दिर परिसरमा करिब ४ देखि ५ हजार श्रद्धालुको सहभागिता रहने गरेको छ । यसैबीच, भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै गाईघाटदेखि केदारेश्वर मन्दिर परिसरसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी बल को संयुक्त सुरक्षा व्यवस्था गरिएको छ । बिहान ५ बजेदेखि नै सुरक्षा निकाय परिचालन गरिएको थियो । गाईघाट तथा केदारेश्वर मन्दिर प्रवेशद्वार वरिपरि दूध, बेलपत्र, फूल तथा पूजा सामग्री बिक्री गर्नेहरूको समेत उल्लेखनीय चहलपहल भएको छ । साउनको तेस्रो सोमबार पनि पोखरामा बोलबम पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव र धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने यस पर्वले पोखराको सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको स्थानीयवासीको विश्वास रहेको छ ।