मानव सेवा आश्रमको महायज्ञबाट ३ करोड ४ लाख ५९ हजार बचत, १ करोड ४४ लाख उठ्न बाँकी, विना संचार माध्यम तर प्रचार प्रसारमै भयो १९ लाख खर्च !

-


     पोखरा क्लिक     
     श्रावण १८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १८ साउन,

मानव सेवा आश्रम हेम्जा शाखाले गत वैशाखमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ बाट ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको छ। तर, महायज्ञका क्रममा घोषणा गरिएका व्यक्तिगत, संस्थागत तथा स्थानीय तहका प्रतिबद्धतामध्ये अझै १ करोड ४४ लाख ४० हजार ८ सय ५४ रुपैयाँ उठ्न बाँकी रहेको आश्रमले सोमबार पोखराको साइमन पार्टी प्यालेसमा आयोजना गरेको पत्रकार सम्मेलनमा आय व्यय सार्वजनिक गरेको हो ।

गत वैशाख १९ देखि २६ गतेसम्म सम्पन्न महायज्ञको आय–व्यय विवरण सार्वजनिक गर्दै कुल ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा सहयोग प्राप्त भएको महायज्ञ मूल आयोजक समिति संयोजक अनिलकुमार शाहीले बताए । उक्त रकममा नगद, चेक, क्यूआर तथा अनलाइनमार्फत प्राप्त दान, व्यक्तिगत तथा संस्थागत प्रतिबद्धता, स्थानीय तहबाट प्राप्त सहयोग, जिन्सी सामग्रीको मूल्यांकन, दानपेटिका, गोप्यदान, ब्याज तथा विभिन्न बिक्रेताबाट प्राप्त छुट रकमसमेत समावेश गरिएको उनले जनाए ।सार्वजनिक विवरणअनुसार नगद, चेक, क्यूआर तथा अनलाइन माध्यमबाट २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ संकलन भएको छ। व्यक्तिगत तथा संस्थागत प्रतिबद्धता र स्थानीय तहबाट प्राप्त हुने भनिएको रकम १ करोड ४४ लाख ४० हजार ८ सय ५४ रुपैयाँ रहेको छ। यस्तै, जिन्सी सहयोगको मूल्यांकन ७ लाख ८१ हजार ३ सय ९५ रुपैयाँ, दानपेटिकाबाट ४ लाख २२ हजार ५ सय ७३ रुपैयाँ, ब्याजबाट २६ हजार ६ सय ७ रुपैयाँ, गोप्यदानबाट ११ हजार ६ सय १० रुपैयाँ तथा विभिन्न बिक्रेताबाट छुटस्वरूप ९ हजार ५ सय ६९ रुपैयाँ प्राप्त भएको उल्लेख गरिएको छ । महायज्ञ सञ्चालनका क्रममा ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ ५२ पैसा खर्च भएको विवरण सार्वजनिक गरिएको छ। खर्चमध्ये सबैभन्दा बढी प्रचार–प्रसार प्रसार तथा छपाइ खर्च शिर्षकमा १९ लाख ३ हजार ९ सय ४५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। यस्तै खाद्यान्न, भान्सा तथा उपभोग्य सामग्रीमा १८ लाख ५८ हजार ७६ रुपैयाँ , कलाकार तथा पण्डितमा २ लाख ९४ हजार ४० रुपैयाँ, इन्धनमा २ लाख ४१ हजार ८ सय ७५ रुपैयाँ, ज्याला, यातायात तथा ढुवानीमा ८ लाख ३२ हजार रुपैयाँ, टेन्ट तथा साउण्ड सिस्टममा १५ लाख १२ हजार ६३ रुपैयाँसहित अन्य शीर्षकमा समेत खर्च गरिएको उल्लेख छ ।

यद्यपि प्रचार–प्रसार तथा छपाइ शीर्षकमा झण्डै १९ लाख रुपैयाँ खर्च भएको देखाइए पनि पत्रकार सम्मेलनमा कुनै पनि सञ्चार माध्यमलाई विज्ञापन वा प्रचार सामग्री प्रकाशन–प्रसारणबापत एक रुपैया पनि नदिएको जानकारी दिइएको छ। यसले उक्त शीर्षकमा भएको खर्चको प्रकृति र वितरणबारे थप जिज्ञासा उत्पन्न गरेको छ । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हेम्जा शाखाको निर्माणाधीन भवन, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा आश्रमको अक्षयकोष वृद्धिका लागि महायज्ञ आयोजना गरिएको बताए । उनका अनुसार हाल पोखरा–२५ हेम्जा र पोखरा–१७ छोरेपाटन शाखामा २ सय ५४ जना असहाय, बेवारिसे तथा बेसहारा नागरिक संरक्षणमा रहेका छन्। उनीहरूको भोजन, स्वास्थ्य उपचार र व्यवस्थापनमा मासिक करिब १९ लाख रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए ।

आश्रमले सार्वजनिक गरेको विवरणमा महायज्ञसम्बन्धी एनएमबी बैंकको खातामा ७२ लाख ८२ हजार ९ सय ६० रुपैयाँ ९२ पैसा मौज्दात रहेको तथा त्यसमा महायज्ञ सुरु हुनुअघि खातामा रहेको ५० हजार ८ सय ५८ रुपैयाँ ८४ पैसा पनि समावेश भएको उल्लेख छ। त्यस्तै, खाद्यान्न तथा भान्सा खर्चअन्तर्गत समावेश गरिएको ७ लाख ८१ हजार ३ सय ९५ रुपैयाँ बराबरको जिन्सी सामग्रीमध्ये केही महायज्ञमा प्रयोग भएको र बाँकी आश्रम व्यवस्थापनमा हस्तान्तरण गरिएको जनाइएको छ। सामाजिक अभियन्ता सुष्मा पौडेल, महायज्ञ मूल आयोजक समितिका सचिव पदमबहादुर केसी लगायतले मानव सेवा आश्रमले विसुद्ध सामाजिक कार्यको लागि आयोजना भएको महायज्ञमा गाँउगँउबाट सहयोग प्राप्त भएको जनाए । २०६९ साल भदौ १३ गते हेटौंडाबाट सेवा सुरु गरेको मानव सेवा आश्रमले हाल सातै प्रदेशका २३ जिल्लामा ३४ शाखामार्फत सेवा सञ्चालन गर्दै आएको जनाएको छ।