बजार अनुगमन गर्दा समन्वय र नियमित रुपमा गर्न सुझाव (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८३ मा प्रकाशित


पोखर,

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले हरेक संघ संस्थाले संस्थागत दाहित्व बोध गर्दै काम कर्तव्य पालना गर्न आग्रह गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, गण्डकी प्रदेशद्वारा शुक्रबार आयोजित अन्तरसंवादमा प्रजिअ गुरुङले हरेक संघ संस्था तथा व्यावसायीक प्रतिष्ठानहरुले आफ्नो संस्थागत दाहित्व बोध गर्दै कतर््व्य पालना गर्न गराउन आग्रह गर्नु भएको हो ।

व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने राज्यको नीति रहेको जनाए । कास्कीमा तीनै तहबाट बजार अनुगमनलाई तीव्र पार्न सक्यौं भने गुणस्तरीय वस्तु तथा सेवा प्राप्‍त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्बर्धन गर्न सकिने उनले बताए । सहायक प्रजिअ चित्राङ्गत बरालले व्यापारीको लापरबाहीका कारण उपभोक्ता पीडित भइरहेको बताए । पसलमा म्याद नाघेका खाद्यबस्तु हटाउन आनाकानी हुने गरेको पाइएको उनको भनाइ छ ।

सो अवसरमा अन्य वक्ताले कालाबजारी, एकाधिकार कृत्रिम अभाव सिर्जना गर्ने जस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाइने विषयमा जोड दिए । गण्डकी प्रदेश उद्योग तथा पर्यटन कार्यालयका उपसचिव महराज ढकालले प्रदेशले वाणिज्य नीति बनाउन लागेको र त्यसपछि उपभोक्ताका अधिकार स्थापित हुने विश्वास लिए । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ जारी भए पनि तीनै तहको सरकारको समन्वयमा बजार अनुगमन गरे मात्र प्रभावकारी बन्ने उनको सुझाव थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका प्रमुख विजन श्रेष्ठले पछिल्ला समय गुणस्तरहीन खाद्यबस्तुलगायत अन्य विकृतिबारे कार्यालयमा उजुरीको संख्या बढ्दै गएको बताउँदै यसले उपभोक्ता सचेत रहेको पाइएको जनाए ।

राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाको संघ, प्रदेश र स्थानीय तह गरी तीन वटै तहलाई बजार अनुगमन गर्ने अधिकार दिइएकोमा अनुगमन भने तीनै तहले एकै ठाउँमा गर्ने गरेको टिप्पणी गरे । ‘स्थानीय तहले पनि त्यही अनुगमन ग¥या छ, प्रदेश र संघले पनि त्यही अनुगमन ग¥या छ,’ उनले भने, ‘गर्नुपर्ने ठाउँमा अनुगमन नभएको, तर एकै ठाउँमा तिनै तह दोहो¥याएर पनि पुग्ने गरेको पाइएको छ । तसर्थ आपसी समन्वय गरेर अनुगमनमा जान आग्रह गर्दै सबै तह र सरोकारवालालाई एकै ठाउँमा राखेर संवाद गरिएको हो ।’ आगामी दिनमा परिणाममूलक र उपलब्धिमूलक बजार अनुगमन हुनेमा उनले विश्वास व्यक्त गरे । प्रदेश र स्थानीय तहलाई समेत उपभोक्ता हित संरक्षण र बजार अनुगमनको जिम्मेवारी दिइएको छ । जिल्ला तहमा जिल्ला प्रशासन कार्यालय र उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयहरूलाई उपभोक्ता संरक्षणमा जिम्मेवार बनाइएको छ ।

मञ्च अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर अधिकृत कल्पना बराल, पशु सेवा कार्यालयका नि.प्रमुख सहदेव पौडेल, कुमार भण्डारी, उपभोक्ता मञ्च गण्डकीका उपाध्यक्ष अधिवक्ता राजुराज अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी विरेन्द्रकुमार पासवान, सचिव अधिवक्ता गीता आचार्य, कोषाध्यक्ष अधिवक्ता मीना रानाभाट लगायत बोलेका थिए । सो अवसरमा तीनवटै तहको प्रतिनिधित्व हुने गरी विभिन्न संघसंस्थाबाट प्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।