म्याजेस्टिक लेक फ्रन्ट होटल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदानदेखि मानवसेवासम्म

-


     पोखरा क्लिक     
     श्रावण ६ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका–६, खहरे, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले तेस्रो वार्षिकोत्सव सम्पन्न गर्दै चौथो वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा होटलले व्यवसायिक उपलब्धिको समीक्षा मात्र नभई रक्तदान, मानवसेवा तथा खेलकुदलगायत सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना गरेर आफ्नो वार्षिकोत्सवलाई अर्थपूर्ण बनाएको हो।

गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा सञ्चालित होटलले नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवाको समन्वय गर्दै स्वदेशी तथा विदेशी पर्यटकमाझ छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ। विशेष समारोहबीच होटलका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई र सुशीला भट्टराईले संयुक्त रूपमा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराईले पोखरा प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न अन्तर्राष्ट्रिय पर्यटकीय शहर भएकाले होटल व्यवसाय केवल नाफामुखी नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय उत्पादन, संस्कृति र समुदायसँग जोडिएका सेवा तथा सामग्रीको प्रवर्द्धनमार्फत पर्यटनलाई अझ दिगो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। होटलका प्रबन्ध निर्देशक कृष्ण पौडेलले तीन वर्षको यात्रामा निरन्तर साथ, सहयोग र विश्वास गर्ने ग्राहक, शुभेच्छुक, कर्मचारी तथा नियमनकारी निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवाको गुणस्तर अझ उकास्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ूयहाँहरूको विश्वास, साथ र सहयोगबिना हाम्रो यात्रा सम्भव हुने थिएन। यस सफलताको सम्पूर्ण श्रेय हाम्रा ग्राहक, शुभेच्छुक र सम्पूर्ण सहयोगीलाई समर्पित गर्दछौं।ू

उहाँका अनुसार करिब १२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ६२ वटा सुविधासम्पन्न कोठा, ३०० र १५० जना क्षमताका दुई आधुनिक सेमिनार हल, डिलक्स बुटिक, सुपर डिलक्स, जुनियर सुइट तथा प्रेसिडेन्सियल सुइट उपलब्ध छन्। साथै, स्विमिङ पुल, आधुनिक स्पा, रेष्टुरेन्ट, बार तथा पर्याप्त पार्किङसहितका सुविधा रहेको होटलले निकट भविष्यमै थप सेवा विस्तार गर्ने योजना पनि अघि सारेको छ। होटलले स्थापना कालदेखि नै व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै फेवाताल सरसफाइलगायत विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। यस वर्षको वार्षिकोत्सवमा पनि रक्तदान कार्यक्रम, फुटसल प्रतियोगिता तथा मानवसेवा आश्रम, छोरेपाटन केन्द्रमा आश्रित ९१ जनालाई भोजन गराउने कार्यक्रम आयोजना गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा २५ युनिट रगत सङ्कलन भएको होटलका लेखापाल दीपक पौडेलले जानकारी दिनुभयो। समाजसेवी तथा होटलका शुभेच्छुक सजेन्द्र हमालले गुणस्तरीय सेवा र आतिथ्यसँगै सामाजिक उत्तरदायित्वलाई समान प्राथमिकतामा राख्दै आएको होटलको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। वार्षिकोत्सवका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा होटलका कर्मचारीहरूको योगदानको सम्मानसमेत गरिएको थियो। स्थानीय ढुङ्गा र काठकलाको प्रयोग गरी वातावरणमैत्री शैलीमा निर्माण गरिएको होटलले व्यवसायिक सफलता र सामाजिक सेवालाई सँगसँगै अघि बढाउँदै पोखराको पर्यटन क्षेत्रमा आफ्नो सशक्त उपस्थिति स्थापित गरिरहेको जनाएको छ।