
पोखरा,
नेपाली सुगम सङ्गीतका सर्वप्रिय गायक स्वर्गीय अरुण थापाको २७औँ स्मृति दिवसको अवसरमा पोखरा–११, रानीपौवास्थित जोजिजु म्युजिक सेन्टरमा विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। जोजिजु म्युजिक सेन्टरका प्रबन्ध निर्देशक, गायक तथा सङ्गीतकर्मी बिनित जोजिजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिमाया श्रेष्ठ जोजिजु (सानु) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा सङ्गीत प्रशिक्षक, विद्यार्थी, नवगायक–कलाकार तथा सङ्गीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गायकद्वय बिनित जोजिजु र हरिमाया श्रेष्ठ जोजिजु (सानु) ले स्वर्गीय अरुण थापाका कालजयी गीतहरू ‘जति माया लाए पनि’, ‘भुलु भुलु लाग्यो मलाई’, ‘चोट के हो, व्यथा के हो’ लगायत दर्जनौँ लोकप्रिय गीत प्रस्तुत गर्दै दिवङ्गत गायकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। सहभागीहरूले अरुण थापाले नेपाली सुगम सङ्गीतमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँका गीतहरूले आज पनि नेपाली श्रोताको मनमा उत्तिकै गहिरो स्थान ओगटेको चर्चा गरेका थिए। कार्यक्रमभर प्रस्तुत गरिएका कालजयी गीतहरूले उपस्थित दर्शक–श्रोतालाई भावविभोर बनाएको थियो।
कार्यक्रममा हार्मोनियममा पप्पु थापा मगर, तबलामा उत्प्रेम जोजिजु, गितारमा सुनिल बानियाँ, मादलमा सुजित सुनार तथा क्याजोनमा गौरव थापा मगरले उत्कृष्ट वाद्यवादनमार्फत प्रस्तुति अझ आकर्षक बनाएका थिए । स्वर्गीय अरुण थापाको स्मृतिलाई सङ्गीतमार्फत जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले नयाँ पुस्तालाई उहाँको सङ्गीतिक योगदानसँग परिचित गराउनुका साथै नेपाली सुगम सङ्गीतको संरक्षण र प्रवर्द्धनमा समेत महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ।




