फेवातालमा डुङ्गा चालकमाथि मापसे र लापसे परीक्षण, गाँजा सेवन गरेका तीन जना पक्राउ

-


     पोखरा क्लिक     
     श्रावण ५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, साउन ५

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा डुङ्गा चालकमाथि गरिएको मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) परीक्षणका क्रममा गाँजा सेवन गरेका तीन जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा आज(मंगलबार) पोखरा–६ स्थित बाराहीघाट क्षेत्रमा गरिएको संयुक्त अनुगमनका क्रममा ३२ जना डुङ्गा चालकको मापसे तथा लापसे परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा तीन जना डुङ्गा चालकले लागूऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नमराज भटरार्यले बताउनु भयो । पछिल्लो समय डुङ्गा चालकको व्यवहार, सुरक्षाप्रति लापरवाही तथा मादक पदार्थ सेवनबारे गुनासा आउने गरेको जानकारीपछि अनुगमनलाई तीव्र बनाइएको उहाँले बताउनुभयो । “डुङ्गा चालक आफैं लागूऔषध सेवन गरेको अवस्थामा यात्रु बोकेर तालमा जानु अत्यन्त जोखिमपूर्ण विषय हो। त्यसैले सुरक्षालाई ध्यानमा राखेर मापसे र लापसे परीक्षण गरिएको हो। नियम उल्लङ्घन गर्ने जोसुकैमाथि पनि कानुनअनुसार कारबाही हुन्छ,“ उहाँले भन्नुभयो।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार फेवातालमा दैनिक सयौं आन्तरिक तथा विदेशी पर्यटकले डुङ्गा सयर गर्ने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै विशेष निगरानी थालिएको हो । “डुङ्गा चालकले मादक पदार्थ वा लागूऔषध सेवन गरेर सेवा दिनु यात्रुको सुरक्षामाथिको गम्भीर खेलवाड हो। यस्तो गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुँदैन। पर्यटकको सुरक्षामा सम्झौता नगर्ने हाम्रो नीति छ र यस्ता अनुगमन नियमित रूपमा जारी रहनेछन्,“ एसपी कार्कीले बताउनुभयो। प्रहरीका अनुसार फेवातालमा पर्यटकको चाप बढेसँगै डुङ्गा सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन यस्ता परीक्षण आगामी दिनमा पनि निरन्तर गरिनेछ। प्रहरीले डुङ्गा चालकलाई मादक पदार्थ तथा लागूऔषध सेवन नगर्न, यात्रुसँग मर्यादित व्यवहार गर्न र सुरक्षा मापदण्डको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ । फेवातालमा डुङ्गा सयर गर्दा सबै यात्रुलाई अनिवार्य रूपमा लाइफ ज्याकेट उपलब्ध गराइँदै आएको छ । विशेषगरी हिउँद तथा वर्षायाममा हावाहुरी र छालका कारण जोखिम बढ्ने भएकाले चालकको जिम्मेवारी र सतर्कता अझ महत्वपूर्ण हुने प्रहरीको भनाइ छ ।