भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल,पत्रकार वासुदेव पौडेललाई ‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार’ अर्पण

-


     पोखरा क्लिक     
     श्रावण २ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, साउन २,

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी प्रदेशको पाँचौँ अधिवेशन तथा एघारौँ वार्षिक साधारण सभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ चयन हुनु भएको हो ।

त्यस्तै समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा चयन हुनु भएको निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले गाउँ पर्यटनको प्रवर्द्धन, पर्यटन व्यवसायीबीच सहकार्य विस्तार, नयाँ गन्तव्यको पहिचान तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकाल सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहने बताउँदै निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गर्नुभयो।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–धितालस्थित पर्यटकीय गाउँ अन्नपूर्ण इको भिलेजमा आज (शनिबार) सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले गाउँ पर्यटनलाई प्रदेशको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्नुभयो। उहाँले प्राकृतिक, सांस्कृतिक तथा ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्न सकिने बताउँदै गाउँ पर्यटनको दिगो विकासका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उक्त अवसरमा रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेललाई ‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ अर्पण गरिएको छ । पत्रकार पौडेललाई नगद रु ११ हजार १११, सम्मानपत्र र दोसल्लासहित ‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा सहित यस आसपास क्षेत्रमा गाउँ पर्यटनको धेरै सम्भावना रहेको बताउदै गाउँमा गाँउमा अर्गानिक खानपिन र नेपाली कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिदै पद मार्गहरु समेत उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफका संस्थापक अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि गाउँ र सहरबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो। उहाँले गाउँमा रहेका प्राकृतिक, सांस्कृतिक तथा कृषि पर्यटनका सम्भावनालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटनको पहिलो सत्रमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (नेपाल) का अध्यक्ष हरिशरण थपलिया, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, सल्लाहकार टिकाराम सापकोटा, दीपेन्द्र पहारी, पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेल, होमस्टे समिति पोखरा महानगरपालिकाका इश्वरी पोखरेल, सचिव लक्ष्मण पहारी, माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल लगायतले गाउँ पर्यटनको दिगो विकास, स्थानीय उत्पादनको प्रवर्द्धन र समुदायको सक्रिय सहभागितामार्फत पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।