
कास्की, असार १८,
कास्कीको मादी गाउँपालिका–७ नयाँ गाउँस्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सोझोकुनामा पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै सोझोकुनामा आउने भक्तजन तथा पर्यटकलाई सहज पहुँच उपलब्ध हुने तथा धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।

मादी गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, सिक्लेसको ५०–५० प्रतिशत लागत साझेदारीमा कुल रु। ८ लाख लागतमा उक्त पूर्वाधार निर्माण गरिएको हो। योजना उपभोक्ता समितिमार्फत निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न भएको जनाइएको छ । स्थानीय तहका अनुसार निर्माण सम्पन्न भएसँगै सोझोकुनामा पुग्ने आगन्तुकका लागि आवश्यक आधारभूत सुविधा विस्तार भएको छ। यसले धार्मिक आस्थाका केन्द्रको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, स्थानीय संस्कृतिको संरक्षण, पर्यटन गतिविधिको विस्तार तथा क्षेत्रको आर्थिक–सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

मादी गाउँपालिका–७ का वडाध्यक्ष दुर्गा बहादुर गुरुङले योजना सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने उपभोक्ता समिति, स्थानीयवासी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका स्थलहरूको संरक्षण, विकास र प्रवर्द्धनलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाइने बताउँदै स्थानीय तह, संरक्षण निकाय र समुदायबीचको सहकार्यबाट यस्ता विकास योजनाहरू अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । स्थानीयवासीले सोझोकुनामा निर्माण सम्पन्न भएको पूर्वाधारले धार्मिक पर्यटनलाई थप गति दिने, आगन्तुकको संख्या वृद्धि हुने तथा त्यसबाट स्थानीय रोजगारी र आयआर्जनका अवसरसमेत विस्तार हुने अपेक्षा गरेका छन्।






