पोखरामा देशभरका कफी व्यवसायी र कफी पारखीको भेट असार २० गते हुने तयारी

-


     पोखरा क्लिक     
     असार १६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १६ असार,

यदि तिमी कफीको सुगन्ध मन पराउँछौ, नेपाली कफीको स्वाद चाख्न चाहन्छौ वा कफीको यात्राबारे नजिकबाट बुझ्ने इच्छा छ भने, यही असार २० गते पोखरा पुग्नुपर्ने एउटा राम्रो कारण छ। देशभरका कफी उत्पादक किसान, व्यवसायी, कफी पारखी र उपभोक्ताको साझा जमघट पोखरामा हुँदैछ।

हुन त कफी नेपालको परम्परागत खेती होइन। तर केही दशकयता यसले गाउँगाउँमा आफ्नो छुट्टै पहिचान बनाएको छ। विशेषगरी बाँदरको समस्या र वर्षौंदेखि बाँझै रहेका जमिनलाई सदुपयोग गर्दै कफी खेतीले किसानका लागि आम्दानीको नयाँ ढोका खोलेको छ। गुल्मी, पाल्पा, कास्की, स्याङ्जादेखि इलामसम्मका पहाडी जिल्लामा यसको व्यावसायिक खेती विस्तार भइरहेको छ भने पोखरा आसपासका क्षेत्रमा पनि नेपाली स्पेसियालिटी कफी उत्पादनले राम्रो सम्भावना देखाइरहेको छ। यही सम्भावनालाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल सरकारअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकार्यमा ‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना गर्न लागेको हो। पोखरा–५, डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसर तथा कफी बगैँचामा हुने कार्यक्रममा गण्डकी प्रदेशका जिल्लासहित इलामदेखि गुल्मी, पाल्पा लगायत करिब १५ जिल्लाका कफी उत्पादक, प्रशोधनकर्ता, व्यवसायी तथा प्रतियोगी सहभागी हुनेछन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा कफी खेतीसँगै कफी संस्कृतिप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। उत्पादनदेखि प्रशोधन, गुणस्तर परीक्षण, बजारीकरण र उपभोगसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलालाई एकै स्थानबाट चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उहाँ पोखराक्लिकलाई बताउनुहुन्छ। कार्यक्रममा कफी किसान, सहकारी संस्था, प्रशोधनकर्ता, क्याफे सञ्चालक, व्यवसायी, उपभोक्ता तथा कफीप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। पछिल्लो समय पोखरा नेपाली स्पेसियालिटी कफीको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएकाले यस कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुनेछ। प्रतियोगिताका विजेताले १० हजार रुपैयाँ, उपविजेताले ७ हजार ५ सय रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गर्नेछन्। यसका साथै कफी नर्सरी र बगैँचाको अवलोकन, उत्कृष्ट नेपाली कफीको निःशुल्क सार्वजनिक कपिङ, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन, कफी बार तथा उपकरण प्रदर्शनी, निःशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन तथा पहिचान प्रतियोगिता, बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलाको प्रदर्शनी, गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया, विज्ञबाट प्राविधिक परामर्श तथा कफीसम्बन्धी मनोरञ्जनात्मक गतिविधि पनि समावेश गरिएका छन्। कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ।

बर्माबाट आएको बिरुवादेखि नेपाली किसानको नगदे बालीसम्म

नेपालमा कफी खेतीको इतिहास करिब ८८ वर्ष पुरानो मानिन्छ। इतिहासअनुसार सन्त होरा गिरीले बर्मा ९हालको म्यानमार०बाट कफीको बीउ ल्याई गुल्मीको आँपचौरमा रोपेपछि नेपालमा कफी खेतीको सुरुआत भएको थियो। रैथाने बाली नभए पनि आज कफी नेपाली किसानका लागि आशाको खेती बन्दै गएको छ। पहाडी भूगोल, अनुकूल हावापानी र बढ्दो अन्तर्राष्ट्रिय मागका कारण नेपाली कफीले छुट्टै पहिचान बनाइरहेको छ। बाँझो जमिनको उपयोग, वातावरणमैत्री खेती प्रणाली र राम्रो मूल्य पाउने सम्भावनाका कारण कफी खेती धेरै किसानको रोजाइमा पर्दै गएको छ। त्यसैले असार २० गते पोखरामा हुने यो कार्यक्रम केवल एउटा प्रदर्शनी वा प्रतियोगिता मात्र होइन, नेपाली कफीको बढ्दो यात्रा, किसानको मेहनत र विश्व बजारतर्फ उन्मुख स्वादको उत्सव पनि हो।



This will close in 20 seconds