
मादी,
जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा मादी गाउँपालिकाको समन्वय र सहजीकरणमा संघ, प्रदेश तथा स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवा तथा विकास आयोजना सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम मादी गाउँपालिका वडा नं= ७ मा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बराल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्की, सशस्त्र प्रहरी बल कास्कीका प्रमुख, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण भण्डारी, गाउँपालिकाका वडाध्यक्षहरू, वडा सचिवहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उठाइएका जिज्ञासा, गुनासा तथा सुझावमाथि मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङ, प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्कीn] hafफ दिँदै नागरिकलाई सहज, पारदर्शी, उत्तरदायी र प्रभावकारी सेवा प्रदान गर्न प्रशासन तथा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रमको स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दै मादी गाउँपालिका–७ का वडाध्यक्ष दुर्गा बहादुर गुरुङले मादीवासीका तर्फबाट स्थानीय नागरिकका गुनासा, सुझाव तथा विकाससँग सम्बन्धित समस्याहरू प्रमुख जिल्ला अधिकारीसमक्ष प्रस्तुत गर्नुभयो। उहाँले विशेषगरी मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने, राहत वितरणलाई व्यवस्थित गर्ने, मध्यपहाडी लोकमार्ग निर्माण कार्यलाई तीव्रता दिने, सडक विस्तारबाट प्रभावित नागरिकलाई उचित मुआब्जा र राहत उपलब्ध गराउने तथा काहुँखोला–सिक्लेस सडकखण्डअन्तर्गत विजयपुरदेखि थाक उकालोसम्मको सडकको मर्मत तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिनुभयो। सार्वजनिक सुनुवाइका क्रममा स्थानीय नागरिकहरूले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकाय र मादी गाउँपालिकाबाट प्रवाह भइरहेका सार्वजनिक सेवामा देखिएका समस्या, गुनासा तथा सुधारका सुझावहरू खुला रूपमा राखेका थिए।
कार्यक्रमको उद्देश्य तथा सार्वजनिक सुनुवाइको औचित्यमाथि प्रकाश पार्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले सार्वजनिक सुनुवाइले नागरिक र सरकारी निकायबीचको दूरी घटाउने, सुशासन प्रवर्द्धन गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आफ्ना समस्या सम्बन्धित निकायसमक्ष प्रत्यक्ष रूपमा राख्ने अवसर प्राप्त भएको भन्दै यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले जनप्रतिनिधि, प्रशासन र नागरिकबीच समन्वय, पारदर्शिता तथा आपसी विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।





