५ किलोमिटर सडक दौडमा पुरुष तर्फ अजय पाण्डे, महिला तर्फ नितु तामाङ प्रथम (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असार १४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, असार १३

अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ (जुन २७) को अवसरमा आज (शनिबार) पोखरामा श्रवणदृष्टि विहीन संघ नेपालको आयोजनामा खुला ५ किलोमिटर सडक दौड प्रतियोगिता आयोजना गरिएको छ । श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुको दोस्रो अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित जनचेतनामुलक ५ किलोमिटर सडक दौड प्रतियोगितामा पुरुष तर्फ अजय पाण्डे प्रथम हुनु भएको छ भने महिला तर्फ नितु तामाङ प्रथम हुनु भएको हो ।

पुरुषतर्फ पाण्डेले १६ मिनेट ४४ः९८ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्दा गौतम श्रेष्ठले १६ मिनेट ५२ः४० सेकेन्डका साथ द्वितीय तथा उपेश ठाकुरीले १७ मिनेट ०८ः५० सेकेन्डमा दौड पूरा गर्दै तृतीय स्थान प्राप्त गर्नुभयो । त्यसै गरी महिलातर्फ नितु तामाङले २३ मिनेट ३३ः३१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुदा मनकुमारी लामा २४ मिनेट ४६ः५९ सेकेन्डका साथ द्वितीय तथा विमला माया मानन्धरले २५ मिनेट ३५ः७० सेकेन्डमा दौड पूरा गर्दै तृतीय स्थान हासिल गर्नुभयो । १६ वर्षमुनि छात्रतर्फ मन्दिप पाण्डे २५ मिनेट ३०ः६२ सेकेन्डका साथ प्रथम हुनु भयो । रोहन खड्का दोश्रो श्याम रोका तेश्रो हुनु भयो । १६ वर्षमुनि छात्रातर्फ समृद्धि मरासिनीले २५ मिनेट ५३ः६० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम हुनु भयो । साधना परियार दोश्रो र कविता मगर तेश्रो हुनु भयो ।

भेट्रान्स पुरुषतर्फ तेजबहादुर गुरुङले २० मिनेट ३४ः२९ सेकेन्डमा दुरी पार गरी उपाधि प्राप्त गर्दा भेट्रान्स महिलातर्फ विष्णु ठाकुरीले २९ मिनेट ३१ः२० सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भयो । त्यसैगरी श्रवणदृष्टि विहीन पुरुषतर्फ मनीष जामीले २२ मिनेट ३३ः२० सेकेन्डका साथ प्रथम स्थान प्राप्त गर्दा श्रवणदृष्टि विहीन महिलातर्फ बसमाया बीकेले ४० मिनेट २३ः२० सेकेन्डमा दौड पूरा गर्दै प्रथम हुनु भयो ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका अधिकार, क्षमता र समावेशी समाज निर्माणको सन्देश प्रवाह भएको संस्थाका अध्यक्ष पुष्पराज रिमालले बताउनु भयो । समाजमा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुष, महिला, १६ वर्षमुनिका छात्र–छात्रा, भेट्रान्स तथा श्रवणदृष्टि विहीन खेलाडीतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो।

यस अघि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री गोविन्द नेपालीले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । खुल्ला तर्फ महिला तथा पुरुष तर्फका विजेतालाई प्रथम पुरस्कार ७ हजार ५ सय, द्वितीय पुरस्कार रु ५ हजार, तृतीय पुरस्कार रु २ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १७ जना बहिरा सहित ८८ जना धावकहरु सहभागिता रहेको रेस डाईरेक्टर ओम गुरुङले बताउनु भयो । विजयी खेलाडीहरुलाई मन्त्री नेपाली, नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ, पूर्व अध्यक्ष खडग बहादुर रानाभाट लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।



This will close in 20 seconds