पोखराबाट सरकार विरुद्ध खबरदारी अभियान, जनअपेक्षा अनुसार काम गर्न दबाब

-


     पोखरा क्लिक     
     असार १३ गते २०८३ मा प्रकाशित


पोखरा, असार १३,

पछिल्लो समय सरकारविरुद्ध सडकबाट विरोधका कार्यक्रम तुलनात्मक रूपमा कम भइरहेका बेला पोखराबाट भने सरकारलाई खबरदारी दिने अभियान सुरु गरिएको छ। ‘परिवर्तनका लागि नयाँ सोच र खोज अभियान’ को आयोजनामा शनिबार पोखराको अमरसिंहचोकमा आयोजित सभामार्फत सरकारलाई जनअपेक्षाअनुसार तथा निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिइएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका गण्डकी प्रदेश संयोजक डा.निरञ्जन कोइरालाले सरकारले जनताले अपेक्षा गरेअनुसार सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने बताए। उनले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे। डा। कोइरालाले देशमा उपलब्ध प्राकृतिक स्रोत, जैविक विविधता र स्थानीय सम्भावनाको उचित उपयोग गर्न नसकिँदा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गरे। पोखरामा कृषि, पर्यटन, सूचना प्रविधि र उद्यमशीलताका क्षेत्रमा पर्याप्त सम्भावना हुँदाहुँदै त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ थियो।

कार्यक्रममा अभियानका केन्द्रीय संयोजक कृष्ण बजगाईंले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको भन्दै अब शासनशैली, नीति र सोचमा समेत परिवर्तन आवश्यक रहेको बताए। उनले नागरिकलाई सचेत बनाउने र सरकारलाई जवाफदेही बनाउन देशभर अभियान सञ्चालन गरिएको जानकारी दिए। सभामा सहभागी वक्ताहरूले भ्रष्टाचार, बेरोजगारी, राजनीतिक अस्थिरता र कमजोर सुशासनजस्ता समस्याको समाधानका लागि नागरिकको निरन्तर खबरदारी आवश्यक रहेको धारणा राखेका थिए। अभियानले शान्तिपूर्ण नागरिक सहभागितामार्फत सरकारलाई उत्तरदायी बनाउँदै सकारात्मक परिवर्तनको वातावरण सिर्जना गर्ने उद्देश्य लिएको जनाएको छ।