कास्कीबाट पनि फुटबल खेलाडी उत्पादन गर्ने नयाँ परियोजना जहाँ महिला तथा पुरुष ३ सय जना छनौट हुदै

-


     पोखरा क्लिक     
     असार ४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ४, असार,

नेपाली फुटबलको भविष्य उज्यालो बनाउने लक्ष्यसहित कास्की, काठमाडौं र बारामा एकैसाथ ९ सय युवा खेलाडी उत्पादन गर्ने महत्वाकांक्षी परियोजना औपचारिक रूपमा सुरु भएको छ । युरोपियन युनियनको सहयोगमा सञ्चालित ‘युवाको लागि फुटबल यात्रा’ कार्यक्रमअन्तर्गत प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की र युनाइटेड कम्युनिटी नेपाल (युनीकन) बीच तीनवर्षे सहकार्य सम्झौता समेत भएको हो ।

‘एसटुएस’ परियोजना अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रममार्फत १६ देखि २९ वर्ष उमेर समूहका ९ सय युवायुवतीलाई फुटबल प्रशिक्षणसँगै जीवन उपयोगी सीप, नेतृत्व विकास तथा लैंगिक सुरक्षासम्बन्धी ज्ञान प्रदान गरिने भएको छ । कास्की, काठमाडौं र बाराका प्रत्येक जिल्लामा १५० महिला र १५० पुरुष गरी ३ सय युवालाई छनोट गरी विभिन्न समूहमा प्रशिक्षण दिइने योजना रहेको छ । पोखरामा आयोजित सम्झौता तथा शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ ले यो परियोजना खेल प्रशिक्षणमा मात्र सीमित नभई अवसरबाट वञ्चित तथा सिमान्तकृत युवाहरूको भविष्य निर्माण गर्ने महत्वपूर्ण अभियान भएको बताउनु भयो ।

“हामी खेलाडी मात्र उत्पादन गर्न खोजिरहेका छैनौं, खेलकुदमार्फत युवामा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सकारात्मक जीवनशैलीको विकास गर्दै सक्षम नागरिक निर्माण गर्ने लक्ष्य राखेका छौं,” अध्यक्ष गुरुङले भन्नुभयो “यो परियोजनाले कास्कीका ३०० युवायुवतीलाई सपना देख्ने, क्षमता विकास गर्ने र जीवनमा अगाडि बढ्ने अवसर प्रदान गर्नेछ ।” युनीकनकी परियोजना अधिकृत याजना सुवेदी का अनुसार परियोजनाले फुटबल प्रशिक्षणसँगै युवालाई आत्मनिर्भर, जिम्मेवार र सामाजिक रूपमा सक्षम नागरिक बनाउन सहयोग पु¥याउनेछ । उहाँका अनुसार विशेषगरी सहरी समुदायका आर्थिक रूपमा विपन्न, सिमान्तकृत तथा अवसरबाट वञ्चित युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । “हामी केवल खेलाडी उत्पादन गर्न चाहेका होइनौं,” सुवेदीले भन्नुभयो, “खेलकुदमार्फत युवाको जीवनस्तर उकास्ने, उनीहरूलाई अवसरसँग जोड्ने र आत्मनिर्भर बनाउने हाम्रो मुख्य उद्देश्य हो।” परियोजनाअन्तर्गत सहभागी खेलाडीहरूलाई निःशुल्क फुटबल प्रशिक्षण प्रदान गरिनुका साथै फुटबल जुत्ता, जर्सी तथा आवश्यक खेल सामग्री उपलब्ध गराइनेछ । प्रशिक्षण ग्रासरुट तहबाट सुरु गरिने र सहभागी खेलाडीहरूबीच विभिन्न प्रतियोगिता तथा प्रतिभा विकास कार्यक्रम समेत सञ्चालन गरिने युनीकनले जनाएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा ले नेपालमा पहिलोपटक युरोपियन युनियनको परियोजनाअन्तर्गत खेलकुद क्षेत्रमा यति ठूलो लगानी र दीर्घकालीन कार्यक्रम आउनु ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । “युनीकनजस्तो संस्था खेलकुद विकासको अभियानमा जोडिनु सुखद पक्ष हो। यो परियोजनाले नेपाली फुटबलको जग बलियो बनाउनुका साथै दीर्घकालीन रूपमा खेल क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ,” उहाँले भन्नुभयो । सदस्य–सचिव शर्माले प्रदेश खेलकुद परिषद्ले सञ्चालन गरिरहेको ‘खेल्छ गण्डकी’ अभियानले समेत खेलाडी उत्पादनमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । सम्झौताअनुसार कास्कीमा गोष्तेघाट फुटबल मैदान, पोखरा रंगशालाको वैकल्पिक फुटबल मैदान तथा भण्डारढिक खेल मैदानलाई प्रशिक्षण स्थलका रूपमा प्रस्ताव गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डीबी नेपाली ले जानकारी दिनुभयो । प्रशिक्षकहरू जिल्ला खेलकुद विकास समितिको समन्वयमा लाइसेन्स प्राप्त प्रशिक्षकमध्येबाट छनोट गरिनेछ । कास्कीमा हालसम्म १४७ जना खेलाडी छनोट भइसकेका छन् खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

युनीकनका परियोजना निर्देशक विनोद न्यौपाने को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष अशिक थापा क्षेत्री, एन्फा कास्कीका उपाध्यक्ष नरप्रसाद गुरुङ, प्रशिक्षक, खेलाडी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। परियोजनाअन्तर्गत दीपक राज गिरी ले फिल्ड फेसिलिटेटर तथा सुमन गुरुङ ले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नु हुने भएको छ । एक वर्षसम्म अध्ययन, तयारी र पाइलट चरणका गतिविधिपछि सुरु गरिएको यो परियोजनाले नेपाली फुटबलमा नयाँ प्रतिभा उत्पादन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। खेलकुदमार्फत सामाजिक रूपान्तरण र युवा सशक्तीकरणको लक्ष्य बोकेको यो अभियानलाई नेपाली फुटबलको भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।