मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, फ्रान्स पनि विजयी

-


     पोखरा क्लिक     
     असार ३ गते २०८३ मा प्रकाशित


पोखरा,

विश्वकप फुटबलमा अर्जेन्टिनाले शानदार सुरुवात गरेको छ। बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा कप्तान लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्‍यो। मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै विश्वकप करियरको पहिलो ह्याट्रिक पूरा गरे। यससँगै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गरेका छन्। मेस्सीले छैटौँ विश्वकप खेल्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन्।

जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा ३ अंक जोडेको छ। अर्जेन्टिनाले अब अस्ट्रिया र जोर्डनसँग खेल्नेछ। यता, समूह ‘आई’ अन्तर्गत भएको अर्को खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा किलियन एम्बाप्पेले दुई तथा ब्राड्ली बारकोलाले एक गोल गरे। सेनेगलका लागि इब्राहिम एम्बायेले सान्त्वना गोल फर्काए।

भिसा समस्याले विश्वकपमा भावुक बने केप भेर्डेका गोलरक्षक

विश्वकपको अर्को चर्चित घटनामा केप भेर्डेका गोलरक्षक भोजिन्हा ९जोसिमार डियास० आफ्नी आमाले भिसा समस्याका कारण खेल प्रत्यक्ष हेर्न नपाएको विषयले भावुक बनेका छन्। अमेरिकी भिसा प्रक्रियासँग सम्बन्धित जटिलता र उच्च धरौटी रकमका कारण उनकी आमा आना कान्दिदा एभोरा अमेरिका पुग्न नसकेपछि यो विषय अन्तर्राष्ट्रिय चर्चा बनेको हो। अमेरिकी डेमोक्रेटिक नेता हाकिम जेफ्रिजले विदेशमन्त्री मार्को रुबियोलाई भोजिन्हाकी आमालाई अमेरिका प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेका छन्। स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै केप भेर्डेलाई गोलरहित बराबरीमा रोक्न सफल भएका भोजिन्हाले खेलपछि भावुक हुँदै आफूले आमालाई रंगशालामा देख्न चाहेको तर त्यो सम्भव नभएको बताएका थिए।