गण्डकी प्रदेशमा रातो प्लेटका दुई पाङ्ग्रे सवारी साधनलाई ’राइड शेयरिङ’ अनुमति दिन्छौंः मुख्यमन्त्री पाण्डे (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असार २ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २, असार,

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर) लाई रातो प्लेटकै रुपमा पनि राइड शेयरिङ अनुमतिः दिइने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजना भएको गण्डकी प्रदेश ट्राफिक व्यबस्थापन सम्बन्धी प्रादेशिक समिक्षिा गोष्ठीमा वोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा हाल रातो प्लेटका दुई पाङग्रे सवारी साधनलाई राइड शेरिङको रुपमा संचालन गर्न दिने बताउनु भएको हो ।

उहाँले भन्नुभयो “कलेज पढ्ने विद्यार्थीहरूको आयआर्जन, घरभाडा र पढाइ खर्च धान्न सहज होस् भनी रातो प्लेटका दुई पाङ्ग्रे सवारी साधनलाई राइड शेयरिङ सञ्चालनको अनुमति दिइने भएको छ । कालो प्लेट अनिवार्य गर्दा हाल सञ्चालित ८० प्रतिशत चालक विस्थापित हुने भएकाले यो निर्णय गरिएको हो ।” चार पाङ्ग्रे सवारी साधनको हकमा भने हाल कालो प्लेटलाई मात्र राइड शेयरिङको अनुमति हुने भएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । पुरानो ट्याक्सीलाई राइड शेयरिङका रूपमा रूपान्तरण गर्दा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइने उहाँले जनाउनु भयो । विद्यार्थी र अपाङ्गता भएका व्यक्तिहरूलाई दिइँदै आएको भाडा छुटको व्यवस्थालाई प्रदेश सरकारले निरन्तरता दिएको बताउदै मुख्यमन्त्री पाण्डेले सो वापत सार्वजनिक बस, मिनिबस तथा माइक्रोबसका धनीलाई सवारी साधन करमा ६० प्रतिशत छुट दिइने व्यवस्था गरिएको जनाउनु भयो । गण्डकी प्रदेशबाट अब १० वर्षको म्याद हुने गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नवीकरण गरिने तयारी गरिएको उहाँले बताउनु भयो । मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै स्रोत साधनले भ्याएसम्म सीसी क्यामरा लगायतका प्रविधि थप गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएसँगै पर्यटक आकर्षणका योजनाका लागि बजेट विनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको सीमाङ्कन पश्चात् अब पहिलो चरणको सौन्दर्यीकरणका लागि आगामी वर्षका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जनाउनु भयो । यस आयोजनालाई पोखरा महानगरपालिकासँगको साझेदारीमा बहुवर्षीय योजनाका रूपमा अघि बढाउने पाण्डेले बताउनु भयो । भारतबाट आउने पर्यटकीय सवारी साधनहरू ग्रामीण पर्यटकीय क्षेत्रमा जाँदा भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम रहने हुँदा अब पार्किङ व्यवस्थापनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । साथै, उहाँले चालकहरूलाई बायाँबाट नभई जहिले पनि दायाँ (राइट साइड) बाट ओभरटेक गर्न आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गोष्ठीका निष्कर्षहरू कार्यान्वयन गर्न महानगर पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । पोखरा क्षेत्रमा करिब २ करोड रुपैयाँ बराबरको सीसी क्यामरा जडानका लागि टेण्डर प्रक्रिया अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो । सडकका खाल्डाखुल्डी पुर्ने विषयमा महालेखाले प्रश्न उठाए पनि आपतकालीन अवस्थामा महानगरले क्षेत्राधिकार बाहिर गएर भए पनि काम गरेको उहाँले स्पष्ट पार्नुभयो । यसअघि चौपायाका कारण हुने दुर्घटना रोक्न महानगरको समन्वयमा गौशाला सञ्चालन गरिएको र अब कुकुरका कारण हुने दुर्घटना रोक्न कुकुरहरूको समेत व्यवस्थापन गरिने मेयर आचार्यले बताउनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय विभागका प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले पछिल्लो समयमा मापसेसंगै लापसे समस्या बढेका कारण सडक दुर्घटना बढेको दाबी गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी.ले ट्राफिक र प्रहरीको एकल प्रयासले मात्र दुर्घटना रोक्न नसकिने हुँदा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले अबको ट्राफिक व्यबस्थापन सडकमा नभई प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले ट्राफिक प्रहरीले ट्राफिक सचेतना गराउनुको सट्टा जरीवाना उठान बढी केन्द्रित भएको बताउदै सवारी दुर्घटनाबाट यात्रु वा बटुवा घाइते वा मृत्यु हुँदा प्रहरीले पिडित पक्षसंग मिलेर आउनु भन्नुको अर्थ प्रष्ट्याउदै कानूनी व्यबस्था अनुसार क्षतिपूर्तिको व्यबस्था लागु गर्न माग गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री गोविन्द नेपाली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले ट्राफिक व्यबस्थापनमा सबैको चासो हुनुपर्नेमा जोड दिनु भएको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले गण्डकी प्रदेशको समग्र सडक तथा सवारी सुरक्षाको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आफ्नो प्रस्तुती राख्नु भएको थियो । चालु बर्षको जेठसम्म प्रदेशमा ४ सय १६ वटा सवारी दुर्घटना हुदा २ सय ३० जनाको मृत्यु भएको बताउनु भयो । “जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेदारी” भन्ने मूल नाराका साथ गण्डकी प्रदेशमा एकदिने ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाको संयुक्त आयोजनाका साथै गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको समन्वयमा उक्त कार्यक्रम भएको हो ।