
दक्षिण कोरियाको विजयी सुरुआत पोखरा । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव तथा महाकुम्भ मानिने फिफा विश्वकप फुटबल–२०२६ भव्य तामझामका साथ सुरु भएको छ।

पहिलोपटक तीन राष्ट्र– मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको पहिलो दिन नै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। खेलमा सुरुआती अग्रता भने चेक रिपब्लिकले लिएको थियो। ५९औँ मिनेटमा लाडिस्लाभ क्रेज्चीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिक्न सकेन।

खेलको ६७औँ मिनेटमा हवाङ इन बोमले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काए र स्कोर १–१ को बराबरीमा ल्याए। बराबरीपछि थप आक्रामक बनेको दक्षिण कोरियाले ८०औँ मिनेटमा निर्णायक गोल गर्यो। ओ ह्युन ग्युले उत्कृष्ट गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक हात पार्न सफल भयो। यो जितसँगै दक्षिण कोरियाले विश्वकप इतिहासमा चेक रिपब्लिकविरुद्ध पहिलो जित दर्ता गरेको छ। १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले उद्घाटन खेलमै जित निकालेको यो चौथो अवसर हो। यसअघि समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा आयोजक राष्ट्र मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
समान तीन अंक भए पनि गोलअन्तरका आधारमा मेक्सिको शीर्ष स्थानमा रहँदा दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ। इतिहासकै ठूलो विश्वकप सन् २०२६ को विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना भइरहेको छ। पहिलोपटक ४८ राष्ट्र सहभागी रहेको प्रतियोगितामा टोलीहरूलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थानका केही टोलीहरू नकआउट चरणमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। विश्व फुटबलप्रेमीहरूको ध्यान केन्द्रित गरेको यो प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीमा सम्पन्न भएको छ भने फाइनल खेल आगामी जुलाई १९ मा अमेरिकाको न्यु जर्सीमा हुनेछ। विश्वभरका करोडौं दर्शकको नजर अहिले विश्वकपमा केन्द्रित रहेको छ। पहिलो दिनकै रोमाञ्चक नतिजाले आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने संकेत दिएको छ।





