
दीननाथ बराल,
पोखरा, ७ जेष्ठ,
पोखरामा साहसिक खेलकुद प्याराग्लाईडिङको आकर्षण गर्न डेढ घण्टा समय थप भएको छ भने पुरानै ठाउँबाट अवतरण गर्न सुरू भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को पहलमा नेपाल नागरिक उड्न प्राधिकरणले उक्त अनुमति दिएसंगै प्याराग्लाईडिङको आकर्षण गर्न डेढ घण्टा समय थप भएको छ भने पुरानै ठाउँबाट अवतरण गर्न सुरू भएको नाका अध्यक्ष अनिल केसीले पोखराक्लिकलाई बताउनु भयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएसंगै पोखराको सराङकोट तथा तोरीपानीबाट उडान भएकोमा स्थान्तरण भई मान्द्रेढुंगा र खपैदीबाट अवतरण हुदै आएकोमा पामे पुगेको प्याराग्लाईडिङको अवतरण अब भने खपैदीबाट गर्न सकिने भएको केसीले जनाउनु भयो । पोखरा २४ को मान्द्रेढुङगा र पोखरा १८ को तोरीपानीबाट प्याराग्लाईडिङ उडान गरी पोखरा १८ को खपौदी, पोखराको २३ पामे र पोखरा १८ को चंखपुरमा ल्याड (अवतरण) गर्न क्यानले अनुमति दिएको हो ।

त्यसै गरी क्यानले बिहान ११ः०० बजे देखि अब दिउँसो ४ः३० बजे सम्म पोखरामा प्याराग्लाईडिङ गर्न पाउने गरी समय तालिका बढाएको छ । पछिल्लो समयमा डेढ घण्टा समय अवधि बढेको नाका बरिष्ठ उपाध्यक्ष खेमराज आचार्यले बताउनु भयो । पोखरामा प्याराग्लाईडिङ स्थान्तरण हुँदा धेरै व्यवसायी पलायन भएको उहाँले जनाउनु भयो ।

प्याराग्लाईडिङ्ग उडान अभिमुखिकरण तालिम तथा पर्यटन विकासमा प्याराग्लाईडिङ्गको भूमिका विषयक कार्यक्रममा सम्बोधन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरा भ्रमण बर्षको सन्र्दभमा पोखराको प्याराग्लाईडिङ पहिलाकै ठाँउबाट अवतरण गर्ने भएकोले यसले पर्यटकहरुलाई थप आकर्षण गर्ने दाबी गर्नुभयो । पोखरामा अब केही समय पश्चात सोलो प्याराग्लाईडिङ समेत संचालन हुने र पोखरामा अन्तराष्ट्रिय स्तरकै प्याराग्लाईडिङ प्रतियोगिता हुने उहाँले बताउनु भयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुंवरले पोखराको दिगो पर्यटनको लागि क्यानसंगको सहकार्यमा हाल पुरानै स्थानबाट प्याराग्लाईडिङ अवतरण गर्ने अनुमति दिइएको बताउनु भयो । यसमा नाले बिषेश सुरक्षामा ख्याल गर्दै हरेक कम्पनी र पाइलटहरु यसमा गम्भिर भयर पर्यटकहरुलाई पूर्ण सुरक्षाको ग्यारेन्टी गर्दै प्याराग्लाईडिङ गर्न उहाँले आग्रह गर्नुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखरामा सोलो प्याराग्लाईडिङ खुल्ला गर्न माग गर्दै उक्त अभियानका लागि जस्तो सुकै आन्दोलन गर्न परिषद तयार रहेको बताउनु भयो । पोखरा भ्रमण बर्ष कार्यसम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले चिन र भारत बिचको कनेक्टिङ गर्न माग गर्नुभयो । आउँदो बर्षमा केही बजेट सहित नयाँ कार्यक्रम ल्याउने उहाँले बताउनु भयो । नेपाल पर्यटन वोर्डका पुर्व सदस्य वासुदेव त्रिपाठीले पोखराको सराङकोट विश्वकै ५ उत्कृष्ट गन्तव्य मध्यमा पर्ने दाबी गर्नु भयो । पोखरा पर्यटनको हव भएको उहाँले जनाउनु भयो । गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले पोखराको पर्यटकको आकर्षणको रुपमा रहेको प्याराग्लाईडिङ अब पुरानै अबस्थामा फर्किने विश्वास व्यक्त गर्नुभयो । पोखरा १८ का वडा अध्यक्ष शिवराज तिमिल्सिना, पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले आवश्यक सुरक्षाका साथ पोखराको आकाशमा उडान गर्न सुझाव दिनुभयो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, यस क्षेत्रका सांसद, जनप्रतिनिधिहरु र पर्यटन व्यवसायीहरुको सकरात्मक पहल साथै प्याराग्लाईडिङ उडान सुरक्षामा प्रयोग हुने विधि प्रविधि एंब जि.पि.एसको प्रयोगबाट थप सुरक्षित साथै व्यवस्थित हुन गएको नाले पोखराक्लिकलाई जनाएको छ ।
बुधबार पोखरामा प्याराग्लाईडिङ पाइलटहरुको लागि प्राविधिक ज्ञान सहितको तालिम समेत प्रदान गरिएको नाका महासचिव बलराम आचार्यले बताउनु भयो । तालिममा नाका प्राविधिक उपाध्यक्ष बिजय गौतमले एयरस्पेश सिमानाको बिषयमा जानकारी गराउनु भयो । राष्ट्रिय खेलाडी एवं प्रशिक्षक बिमल अधिकारी सुरक्षाको बिषयमा सहजीकरण गर्नुभयो । प्रमुख प्रशिक्षक योगेश बहादुर भट्टराईले अनुशासन सम्बन्धि सहजीकरण गर्नुभयो ।





