स्याङ्जाको पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यकार असफल गौतमसहित तीन स्रष्टा सम्मानित

-


     पोखरा क्लिक     
     जेठ २९ गते २०८३ मा प्रकाशित


स्याङ्जा, जेठ २९,

पुतलीबजार प्रज्ञा प्रतिष्ठान, स्याङ्जाले कला, साहित्य तथा संगीत क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्‍याएका तीन जना स्रष्टालाई सम्मान गरेको छ ।प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रममा साहित्यकार तथा कवि असफल गौतम, साहित्यिक स्रष्टा अनन्त कुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाल लाई जनही नगद २० हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।

पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपािलकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह बाबा, तथा सदस्य सचिव बाबुराम बराल ले सम्मानित व्यक्तित्वहरूलाई नगद, सम्मानपत्र तथा दोसल्ला प्रदान गरेका थिए। सम्मान ग्रहण गर्दै साहित्यकार असफल गौतमले सम्मानले थप जिम्मेवारीबोध गराएको बताउँदै प्रतिष्ठानले आफूहरूप्रति व्यक्त गरेको विश्वासलाई जोगाइराख्न आजीवन सिर्जनात्मक यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। उनले पछिल्लो पुस्ताका स्रष्टामाथि प्रतिष्ठानले राखेको भरोसाले साहित्यिक क्षेत्रमा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सम्मानित स्रष्टाहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए भने सहभागी साहित्यप्रेमीहरूले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका थिए। पुतलीबजार प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष कला, साहित्य तथा संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। प्रतिष्ठानले यस वर्ष पनि तीन फरक विधाका स्रष्टालाई सम्मान गर्दै सिर्जनशील व्यक्तित्वहरूको योगदानको उच्च कदर गरेको जनाएको छ।