असोज ७ देखि फ्लाई दुबईले पोखरा दुबई सिधा उडान गर्ने भएसंगै अग्रिम टिकट समेत खुल्ला गर्यो

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २८ जेठ,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि पोखरा–दुबई रुटमा दैनिक उडान सञ्चालन गर्ने घोषणा गरेसँगै गण्डकी प्रदेशको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ।

विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुनिश्चित भएको हो। फ्लाई दुबईले उक्त रुटका लागि टिकट बुकिङसमेत खुला गरिसकेको छ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो स्थापनाको मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको युगमा औपचारिक प्रवेश गर्न लागेको छ। एक तर्फी हाल करिब ४० हजार भाडा शुल्क कायम रहेको कम्पनीले जनाएको छ ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले दुबई उडानलाई पोखराको पर्यटन क्षेत्रका लागि नयाँ ऊर्जा र नयाँ अवसरको सुरुआतका रूपमा व्याख्या गर्नुभयो। उहाँले दुबई विश्वकै प्रमुख ट्रान्जिट हबमध्ये एक भएकाले अब पोखराको पहुँच विश्वका २ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यसम्म विस्तार हुने सम्भावना बढेको बताउनुभयो। “पोखराबाट सिधै दुबई पुग्नु भनेको विश्वसँग जोडिने नयाँ ढोका खुल्नु हो,” उहाँले भन्नुभयो। “यसले पर्यटन आगमन मात्र होइन, व्यापारिक तथा लगानीका अवसरसमेत विस्तार गर्नेछ।”

सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा थियो। अब फ्लाई दुबईको दैनिक सेवासँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने विश्वास गरिएको छ।



This will close in 20 seconds