
पोखरा, २९ जेठ,
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गण्डकी प्रदेशको प्रथम ऐतिहासिक प्रदेश अधिवेशन आज ९बिहीबार० देखि पोखरामा सुरु भएको छ । प्रदेश सभापति पदका लागि चार जना नेताबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक रुपमा आकांक्षी देखिनु भएको हो । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले अधिवेशन नेतृत्व परिवर्तनको प्रक्रिया मात्र नभई नीति, कार्यशैली र व्यक्तित्वको मूल्याङ्कन गर्ने अवसर समेत भएको बताउनु भयो ।
“अधिवेशन भनेको नेतृत्व परिवर्तन गर्नु मात्र होइन, राम्रो नीति निर्माण र आवश्यक परिवर्तन गर्ने प्रक्रिया पनि हो । यसले व्यक्तिको मूल्याङ्कन समेत गर्छ,” उहाँले भन्नुभयो । महामन्त्री बुर्लाकोटीले रास्वपा कुनै एक व्यक्ति वा समूहको पार्टी नभई सम्पूर्ण नागरिकको साझा अभियान भएको उल्लेख गर्दै पार्टीमा व्यक्तिगत स्वार्थभन्दा देश निर्माणको लक्ष्य प्रमुख रहेको बताउनु भयो । “राष्ट्रिय स्वतन्त्र पार्टी हामी सबै र आम नागरिकको लागि हो । म एउटा व्यक्तिको लागि होइन, देशको भविष्य निर्माण गर्न रास्वपामा जोडिएको हुँ । हामीले आफ्नो राजनीतिक भविष्य जोड्न पार्टीमा लागेको होइन, देशको भविष्य बनाउन लागेका हौं,” उहाँले भन्नुभयोे । उहाँले पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै पदका लागि अनावश्यक प्रतिस्पर्धा र व्यक्तिकेन्द्रित सोचबाट बच्न आग्रह गर्नुभयो ।
“म छैन भने अधिवेशन हुँदैन, म नै सर्वेसर्वा हुँ भन्ने सोच गलत हो। पार्टीले जहाँ जिम्मेवारी दिन्छ, त्यहीँ बसेर योगदान गर्नुपर्छ,” उहाँले भन्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै गुट–उपगुट नरहेको दाबी गर्दै नेतृत्वप्रति विश्वास गर्न आग्रह गर्नुभयो । संगठनभित्र जिम्मेवारी बाँडफाँट हुँदा असन्तुलन नभएको उल्लेख गर्दै पार्टी एकताबद्ध ढंगले अघि बढिरहेको उहाँले दाबी गर्नुभयो ।
४ नेताबीच नेतृत्वको प्रतिस्पर्धा
गण्डकी प्रदेश सभापति पदका लागि वर्तमान सभापति तथा संघीय सांसद राजन गौतम, प्रदेश महामन्त्री नवीन त्रिपाठी, नेता माधव कँडेल र हरि बहादुर कार्की मुख्य आकांक्षीका रूपमा देखिनु भएको छ । वर्तमान सभापति गौतम पुनः नेतृत्व दोहो¥याउने तयारीमा हुनुहुन्छ ।
अधिवेशनअघि सभागृह गेटमा धर्ना
यसैबीच अधिवेशन सुरु हुनुअघि पोखरा सभागृहको मूल प्रवेशद्वार अगाडि ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ले धर्ना दिनु भएको थियो । आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न तथा उनीहरूलाई न्याय दिन माग गर्दै समूहले प्रदर्शन गर्नु भएको हो । प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने माग गर्नु भएको छ । उहाँहरुले सरकारले आफ्ना मागप्रति तत्काल सुनुवाइ नगरे आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ ।





