पर्वतीय दौड प्रतियोगिताको तयारी स्वरूप शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने

-


     पोखरा क्लिक     
     भाद्र ४ गते २०८३ मा प्रकाशित


पोखरा ४, भदौं,

तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता–२०८३ को तयारीस्वरूप आउदो शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको गाउँ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा करिब ७ किलोमिटरको हाईकिङ हुन लागेको आयोजकले जनाएको छ ।

पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क (ड्यामसाइड) बाट शनिबार बिहान ७ः३० बजे सुरु हुने हाईकिङ रानीवन हुँदै पुम्दीकोटस्थित विशाल महादेवको मूर्तिसम्म पुगेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’सम्म पुग्नेछ । पदयात्रामा पर्यटनकर्मी, संचारकर्मी, स्थानीयवासीकोे सहभागिता हुने भएको छ । पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै आगामी पर्वतीय दौड प्रतियोगिताको तयारी र प्रचारप्रसारका लागि हाईकिङ आयोजना गरिएको बताए । उनका अनुसार हाईकिङले पुम्दीकोटको धार्मिक पर्यटनसँगै पदयात्रा, गाउँ पर्यटन र नयाँ पर्यटकीय संरचनाबारे समेत प्रचार गर्नेछ ।

विश्व पर्यटन दिवसको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता यस वर्ष भने असोजको दोस्रो साता आयोजना हुने भएको छ । प्रतियोगिताको पूर्वतयारी तथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको हाईकिङमा सहभागीले पुम्दीकोटको प्रसिद्ध ५१ फिट अग्लो शिवको मूर्तिसँगै पछिल्लो समय सञ्चालनमा आएको ‘ड्रिम सिटी’को समेत अवलोकन गर्नेछन् ।
शनिबार हुने हाईकिङ कार्यक्रमलाई सफल बनाउन ड्रिम सिटीले समन्वय गरेको छ भने नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले सहयोग गर्ने भएको छ । केन्द्रका सचिव सागर सुनारका अनुसार गत वर्ष आयोजना भएको पर्वतीय दौड प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएका थिए । आगामी प्रतियोगितामा समेत स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको उनले बताए । पुम्दी–भुम्दी क्षेत्रमा धार्मिक पर्यटनसँगै गाउँ पर्यटन, पदयात्रा र मनोरञ्जनात्मक गन्तव्य थपिँदै गएकाले यस क्षेत्रलाई पोखराको वैकल्पिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हाईकिङ तथा पर्वतीय दौड जस्ता गतिविधिले थप योगदान पु¥याउने आयोजकको विश्वास छ ।

पुम्दीकोटमा थपिएको ‘ड्रिम सिटी’

पुम्दीकोट क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित निजी लगानीमा निर्माण गरिएको ‘ड्रिम सिटी’ सञ्चालनमा आएपछि यस क्षेत्रमा पर्यटकका लागि थप आकर्षण थपिएको छ । पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ड्रिम सिटीमा विभिन्न मनोरञ्जनात्मक तथा दृश्यावलोकनका संरचना निर्माण गरिएको छ । परियोजनामा अम्ब्रेला पार्क, हट एयर बलुन फोटो बुथ, ग्लास स्काईवाक, पिङ, स्विङ, रेष्टुरेन्ट लगायतका संरचना रहेका छन् ।

क्रुज सिपको आकारमा निर्माण गरिएको ड्रिम सिटी रातको समयमा आकर्षक बत्तीले झनै मनमोहक देखिने गरेको छ । स्थानीयको जग्गा लिजमा लिएर निर्माण गरिएको परियोजनामा स्थानीयसहित चार जनाको लगानी रहेको सञ्चालकमध्येका एक श्यामकुमार बजगाईंले जानकारी दिए । उनका अनुसार करिब ३५० रुपैयाँ शुल्कमा परियोजनाभित्र रहेका सबै आकर्षणको अवलोकन गर्न सकिन्छ । रेष्टुरेन्ट तथा बारमा एकैपटक करिब दुई सय जनाले सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

ड्रिम सिटीबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमालसँगै फेवाताल, स्तूपा, कालावाङ घरेडी बुद्धपार्क लगायतका प्राकृतिक तथा पर्यटकीय दृश्य अवलोकन गर्न सकिन्छ । पुम्दीकोट महादेव मन्दिरबाट करिब दुई सय मिटर पश्चिममा रहेको परियोजनामा सार्वजनिक यातायात, ट्याक्सी तथा निजी सवारीसाधनबाट सहजै पुग्न सकिन्छ । बजगाईंले पुम्दीकोट आउने पर्यटकलाई केही घण्टा थप समय बिताउने वातावरण बनाउने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको बताए द्दछ। “पुम्दीकोट आउने पर्यटकलाई केही घण्टा थप समय बिताउने वातावरण बनाउनु हाम्रो उद्देश्य हो। परियोजनाभित्र भुलभुलैयादेखि विभिन्न मनोरञ्जनात्मक तथा फोटो खिच्न सकिने आकर्षणहरू छन्,” उनले भने । फोटो एआईजेनेरेट ।