कार दुर्घटनामा गण्डकी विकास बैंकका पूर्व सीईओ थापाको निधन

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८३ मा प्रकाशित


पोखरा, २९ जेठ

पोखराको वित्तीय तथा बैंकिङ क्षेत्रका परिचित व्यक्तित्व, गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशमबहादुर थापाको सवारी दुर्घटनामा परी निधन भएको छ । बेगनास–भोर्लेटार सडक खण्डअन्तर्गत पोखरा महानगरपालिका–३१ स्थित पचभैया क्षेत्रमा उहाँ आफैले चलाउनुभएको कार दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेको कास्की प्रहरीले पोखराक्लिकलाई बताउनु भयो ।

बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनु भयो । दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ स्थानीयवासी, सुन्दरीडाँडा प्रहरी चौकी र शिशुवास्थित सीआरभी टोलीले दुर्घटनामा परेका पोखरा निवासी ६० वर्षीय थापालाई गम्भीर घाइते भएको अबस्थामा उद्धार गर्नु भएको थियो ।

साँझ ६ः२५ बजे उद्धार गरी थापालाई उपचारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, मोहरिया लगिएको थियो। अस्पतालमा उपचारका क्रममा साँझ ७ः१५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गर्नु भएको थियो । थापाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षत्रिय अस्पताल) पोखरामा राखिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पासवानले जानकारी दिनुभयो।