
पोखरा,
स्टेप वाई स्टेप माध्यमिक विद्यालय ले कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूबीच अन्तरसदनात्मक अङ्ग्रेजी हिज्जे प्रतियोगिता आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित प्रतियोगितामा चारवटा सदनका १२ टिमबाट ६० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको अङ्ग्रेजी भाषामा हिज्जे ज्ञान, शब्दभण्डार तथा भाषिक दक्षताको विकास गर्नु रहेको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल ले मन्तव्य व्यक्त गर्दै कुनै पनि कामको सुरुवात सही ढंगले भएमा त्यसले सफलताको मार्ग प्रशस्त गर्ने बताउनुभयो। उहाँले यस्ता अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने उल्लेख गर्दै हिज्जे प्रतियोगिताले भाषिक शुद्धता र शब्दभण्डार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। त्यसैगरी विद्यालयका सहप्राचार्य दीपक गिरी ले विद्यार्थीहरूलाई यस्ता प्रतियोगितात्मक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दै यसले आत्मविश्वास, नेतृत्व क्षमता र सक्रियता विकास गर्न मद्दत गर्ने बताउनुभयो। प्रतियोगितामा न्युटन सदनका आरोग्या श्रेष्ठ, विहान्सा शर्मा, अनुज बराल, रिदम नेपाली, एन्जल तामाङ र क्रितेश पौडेल सम्मिलित टोली प्रथम स्थान हासिल गर्न सफल भएको थियो।
कार्यक्रममा शिक्षकहरू गोमा पोखरेल, बिकल बराल र नबिन ढकालको सहभागिता रहेको थियो भने शिक्षक पारस राज पाण्डे ले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको संयोजन अङ्ग्रेजी विभाग प्रमुख रुपेश पौडेल ले गर्नुभएको थियो। विद्यालयले यस्ता शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।





