
पोखरा, २९, जेठ,
विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसर पारेर साइकल सिटी पोखराले पोखरामा स्वास्थ्य, वातावरण संरक्षण र दिगो पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम आयोजना गरेको छ । “साइकल चलाऔं, स्वस्थ रहौं, पृथ्वी बचाऔं” भन्ने मूल नारासहित हालै पोखरामा सम्पन्न भएको कार्यक्रम अन्तर्गत शैक्षिक सहयोग, वृक्षारोपण तथा वृहत साइकल र्याली आयोजना गरिएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ का अनुसार डिहिको पाटन क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको थियो। उक्त कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्य राखिएको उनले बताए।
यसैगरी पोखरा–६ लेकसाइडस्थित डिहिको पाटन क्षेत्रमा फलफूल तथा फूलका बिरुवा रोपण गरिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै गार्डेनमा आउने आगन्तुकहरूको सुविधाका लागि गार्डेन चेयरसमेत हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। त्यस्तै मानव अधिकार चोकबाट वृहत साइकल र्याली आयोजना समेत गरियो । उक्त र्याली पृथ्वीचोक, बिरौटा चोक, सिर्जनाचोक, सिद्धार्थ चोक, नालामुख, मोहरिया टोल, पुरानो टुँडिखेल, हरिचोक हुँदै सुइखेतस्थित रिभर भ्याली रिसोर्ट, हेम्जामा पुगेर समापन भएको थियो ।
अध्यक्ष श्रेष्ठले पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको अवस्थामा वैकल्पिक र वातावरणमैत्री यातायातका रूपमा साइकलको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि साइकल सबैभन्दा सस्तो, स्वास्थ्यवर्द्धक र वातावरणमैत्री साधन भएकाले यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। उनले पोखरामा साइकल प्रयोगकर्ताको संख्या क्रमशः बढ्दै गएको दाबी गर्दै साइकलमैत्री पूर्वाधार निर्माणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए। “पोखरामा केही स्थानमा साइकल लेन र साइकल स्ट्यान्ड निर्माणको सुरुवात भए पनि त्यसको विस्तार र प्रभावकारी प्रयोग अझै हुन सकेको छैन,” उनले भने, “पर्यटनको सहर पोखरालाई वास्तविक साइकल सिटीका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ।” साइकल सिटी पोखराले आयोजना गरेका यी कार्यक्रमहरूले स्वस्थ जीवनशैली, वातावरण संरक्षण र दिगो पर्यटन विकासको सन्देश प्रवाह गर्नुका साथै साइकल संस्कृतिको प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।





