ओझेलमा परेको स्याङ्जाको नवग्रह मन्दिर ः धार्मिक पर्यटनको धेरै सम्भावना, शनिबार दर्शनार्थीको भिड

-


     पोखरा क्लिक     
     जेठ २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित नवग्रह मन्दिर केही समयदेखि धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । एक समय सामान्य धार्मिक वन क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रमा हाल हजारौं भक्तजन र पर्यटकको गन्तव्य बन्न थालेको छ । पर्याप्त प्रचारप्रसारको अभावका कारण अझै ओझेलमा रहेको यो मन्दिर धार्मिक पर्यटन प्रवद्र्धनमा कोसेढुंगा सावित हुन सक्ने सम्भावना बोकेको स्थानियले बताउनु भयो ।

स्याङ्जा जिल्ला को अर्जुनचौपारी गाउँपालिका–१ स्थित धार्मिक वन क्षेत्रमा निर्माण गरिएको नवग्रह मन्दिर समुद्री सतहबाट करिब १,०२४ मिटर उचाइमा रहेको छ । करिब ८ हेक्टर क्षेत्रफलमा फैलिएको परिसरमा निर्माण गरिएको यो मन्दिर नवग्रहको विधिवत पूजा हुने शक्तिपीठका रूपमा परिचित बन्दै गएको छ । मन्दिर निर्माणसँगै यहाँ धार्मिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्न थालेको छ । हरेक शनिबार हजारौं भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् भने विशेष अवसरहरूमा आगन्तुकको संख्या झनै बढ्ने गरेको मन्दिरका पुजारी तीलक देवकोटाले बताउनु भयो । नवग्रह मन्दिर सञ्चालनमा आएपछि मुक्तिनाथ मन्दिर, बागलुङ कालिका मन्दिर र मनकामना मन्दिर जाने धार्मिक पर्यटकहरु नवग्रह मन्दिरमासमेत आउने गरेको उहाँले जनाउनु भयो । अहिले मलमास चलिरहेकाले भक्तजनको आगमनमा कमी आएको बताउँदै उहाँले भन्नुभयोे,–“मन्दिर बनेसँगै पर्यटकको संख्या बढ्न थालेको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ, मलमास सकिएलगत्तै भक्तजनको संख्या बढ्छ भन्ने हामी पूर्ण आशाबादी छौं । ”

यस मन्दिरको मुख्य आकर्षण नवभुज संरचनामा निर्माण गरिएको नवग्रह मन्दिर हो । परिसरभित्रः२७ फिट अग्लो नवग्रह मन्दिर
नवभुज स्तम्भ, ग्रह यन्त्र, षट्कोण शिवालय, पञ्चमुखी शिवलिङ्ग, गणेश, लक्ष्मी, कालभैरव, हनुमान, दुर्गा भवानी र कुलदेवताका मूर्तिहरू
१०८ वटा पिपलका बिरुवा, राशि अनुसारका वृक्ष तथा वनस्पति, स्थापना गरिएको छ । नौ वटा भुजायुक्त स्तम्भमा सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतुका प्रतीक राखिएका छन्। धार्मिक मान्यता र ज्योतिषीय महत्वलाई समेटेर निर्माण गरिएको यो संरचनाले मन्दिरलाई अन्य धार्मिक स्थलभन्दा फरक पहिचान दिएको छ । पोखराबाट करिब ५२ किलोमिटर दूरीमा रहेको यो मन्दिर पुग्न सहज सडक पहुँच रहेको छ । पोखरा बाट हेलुसम्म सिद्धार्थ राजमार्ग हुदै सार्वजनिक तथा निजी सवारी प्रयोग गर्न सकिन्छ भने त्यहाँबाट करिब ७ किलोमिटर यात्रा गरी मन्दिर पुग्न सकिन्छ । मन्दिर व्यवस्थापन पक्षका अनुसार यहाँ आउने धेरै भक्तजनहरू मुक्तिनाथ मन्दिर, मनकामना मन्दिर तथा बागलुङ कालिका मन्दिर जाने क्रममा समेत दर्शनका लागि आउने गरेका छन्। यसले नवग्रह मन्दिरलाई गण्डकी क्षेत्रको धार्मिक पर्यटन सर्किटमा जोड्ने सम्भावना बलियो बनाएको छ ।

नवग्रह मन्दिर दर्शनका क्रममा पर्यटकहरूले कुहिरोको समुद्र, धार्मिक वन क्षेत्र, गुफा तथा आसपासका अन्य धार्मिक स्थलहरूको समेत अवलोकन गर्न सक्छन्। नजिकै रहेका डहरे देउराली, एकानन्द गुफा, रापाकोट कालिका लगायतका गन्तव्यले यस क्षेत्रको पर्यटन सम्भावना अझ बढाएका छन्। त्यसैगरी दरौं सिरुवारी होमस्टे, सतौचण्डी थान, खिलुङ कालिका मन्दिर जस्ता स्थलसँग धार्मिक–पर्यटकीय प्याकेज निर्माण गर्न सकिने सम्भावना देखिएको छ । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले आठ हेक्टर क्षेत्रफलमा धार्मिक वनभित्र निर्माण गरिएको नवग्रह मन्दिर समुन्द्री सतहभन्दा एक हजार २४ मिटरको उचाईमा रहेको जनाउनु भयो । पूर्वाधार निर्माणसँगै धार्मिक पर्यटकको आगमन बढेको गाउँपालिका अध्यक्ष तिवारीले बताउनु भयो । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछानेले नवग्रह मन्दिरलाई पर्यटनको गन्तव्यका रुपमा विकास गर्न पर्यटन वोर्डले योजना बनाउने सुनाउनु भयो । त्यहि योजना अन्तर्गत नवग्रह मन्दिरलाई गन्तव्य बनाएर चाँडै अल्ट्रा म्याराथन आयोजना गर्न लागेको उल्लेख गर्नुभयो ।

पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटाले नवग्रहलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा सुचिकृत गरिनुपर्ने माग गर्नुभयो । यसले पर्यटकलाई आकर्षित गर्ने बताउँदै उहाँले भन्नुभयोे,‘पोखराका विन्ध्यबासिनी, पुम्दीभुम्दीस्थित महादेव मन्दिर, नारायणस्थानसहित मुस्ताङको मुक्तिनाथ, गोरखाको मनकामना र स्याङ्जाको नवग्रह मन्दिरलाई एउटै धार्मिक–पर्यटकीय प्याकेजमा जोडेर अघि बढाउन सकेमा पर्यटन क्षेत्रले थप लाभ लिनसक्छ ।’ नेपाल पर्यटन वोर्डका कार्यक्रम अधिकृत युवराज गुरुङले नवग्रह धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य हुन सक्ने बताउनु भयो । पूर्वाधार निर्माणपछिको उक्त क्षेत्रलाई अब प्रवद्र्धन गर्न आवश्यक भएको बताउनु भयो ।