फिर्केखोलाको केही भाग पुनः हटाउन नागरिक समाजको माग, भोट बैंकको रूपमा कसैलाई संरक्षण नगर्न नागरिक अगुवा पौडेलको आग्रह (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण १० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १० साउन,

पोखराको प्रायः मध्यभाग भएर बगेको फिर्केखोला अतिक्रमणमुक्त बनाउने अभियान बीचमै रोकिएको भन्दै नागरिक समाजले बाँकी रहेका अवैध संरचना तत्काल हटाउन पोखरा महानगरपालिकासँग माग गरेको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै फिर्केखोला खोलाघरमा रहेका सबै अवैध संरचना हटाएर पैदलमार्ग र साइकल लेनसहितको हरित करिडोर निर्माण गर्नुपर्नेमा जोड दिएको हो।

अभियानका संयोजक तथा नागरिक अगुवा रामबहादुर पौडेलले फिर्केखोला अतिक्रमण हटाउने क्रममा महानगरपालिकाले सुरुवातमा देखाएको सक्रियता सकारात्मक भए पनि अन्तिम चरणमा आएर प्रभावशाली व्यक्ति र पहुँचवालाका संरचना जोगाउने प्रयास भइरहेको आरोप लगाउनुभयो। उहाँले ूकसैलाई पनि भोट बैंकको रूपमा संरक्षण गर्न हुँदैन। कानून सबैका लागि समान रूपमा लागू हुनुपर्छ। फिर्केखोलाभित्र रहेका बाँकी अवैध संरचना हटाएर मात्र अभियानले पूर्णता पाउँछ,ू भन्नुभयो। पौडेलले फिर्केखोलाको प्राकृतिक बहाव जोगाउन बाँकी रहेका संरचना हटाउन ढिलाइ गरिए वातावरणीय जोखिम थप बढ्ने चेतावनी दिनुभयो। बढ्दो अतिक्रमण, प्रदूषण, अव्यवस्थित सहरीकरण र नियमनको कमजोरीका कारण फिर्केखोलाको अस्तित्व नै संकटमा परेको उहाँको भनाइ थियो।

महाअभियानका अनुसार पोखरा–१८ को अँधेरीकुनाबाट सुरु भएर वडा नम्बर २, ४, ५, ८, ७, १७ र ६ हुँदै फेवातालमा मिसिने फिर्केखोलाको विभिन्न स्थानमा अझै पनि खोलाघर मिचेर बनाइएका पक्की तथा कच्ची संरचना यथावत् छन्। विशेषगरी वडा नम्बर ४, ५, ७ र ८ मा रहेका संरचना पूर्ण रूपमा नहटाइएकाले अभियान अधुरो बनेको महाअभियानको दाबी छ। अभियानले सार्वजनिक गरेको विवरणअनुसार पस्र्याङ क्षेत्र, भँयरथान, साविक स्काउट कम्पाउण्ड, रेडियो नेपाल आसपास, रिठेगौंडा, पोखरा इन्जिनियरिङ कलेज आसपास, बगालेटोल, गहते, मासबार–रत्नचोक क्षेत्रलगायतका स्थानमा अझै खोलाघर अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल तथा विभिन्न सामाजिक संरचना बाँकी रहेका छन्। पत्रकार सम्मेलनमा संयोजक पौडेलले सुरुवातमा डोजर चलाएर अभियान अगाडि बढाइए पनि अहिले राजनीतिक दबाब र पहुँचका आधारमा केही संरचना जोगाउने प्रयास भइरहेको आरोप लगाउनुभयो। “जुन उत्साहका साथ सुरुमा डोजर चलाइएको थियो, अहिले त्यो अभियान सेलाउँदै गएको छ। यसरी नै अघि बढ्ने हो भने फिर्के करिडोर परियोजना नै असफल हुने खतरा छ” उहाँले भन्नुभयो। उहाँले सामाजिक सञ्जालमार्फत पनि वडा नम्बर ४, ५, ७ र ८ भित्रका खोलाघर अतिक्रमण पूर्ण रूपमा नहटाएसम्म ती वडाले आयोजना गर्ने कुनै पनि सार्वजनिक कार्यक्रममा आफू सहभागी नहुने घोषणा गरिसकेको जानकारी दिनुभयो। यसलाई स्थानीय सरकारप्रति दबाब सिर्जना गर्ने शान्तिपूर्ण नागरिक अभियानका रूपमा लिन आग्रह गर्नुभयो।

महाअभियानले फिर्केखोलाको सीमांकन सम्बन्धी विगतका अध्ययनहरू पनि सार्वजनिक गरेको छ। २०८० सालमा बासुदेव पौडेलको संयोजकत्वमा गरिएको सीमांकनमा १४७ वटा संरचना खोलाघर अतिक्रमण गरी निर्माण गरिएको भेटिएको थियो। तीमध्ये २५ वटा सामाजिक भवन, ३५ वटा पक्की घर र ८७ वटा कच्ची टहरा रहेको उल्लेख गरिएको छ। त्यसअघि २०६९ सालमा गरिएको अर्को अध्ययनले भने १९२ वटा संरचना मापदण्डविपरीत रहेको देखाएको थियो। महानगरपालिकाले हालसम्म १६० वटा संरचना हटाइसकेको दाबी गरे पनि अभियानले अझै पनि प्रभावशाली व्यक्तिका संरचना नहटाइएको आरोप लगाएको छ। साथै फिर्केखोलाको मापदण्ड १० मिटरबाट घटाएर ६ मिटर कायम गरिएको निर्णयप्रति पनि महाअभियानले असन्तुष्टि जनाएको छ। महाअभियानले वास्तविक भूमिहीन नागरिकको उचित व्यवस्थापन गर्नुपर्ने भए पनि खोलाघर अतिक्रमण गरेर बनाइएका कुनै पनि संरचना संरक्षण गर्न नहुने स्पष्ट गरेको छ। नागरिक समाज कास्कीका प्रवक्ता गोकुलबहादुर कार्कीले ड्यामसाइड क्षेत्रमा चेक ड्याम निर्माण र बाँकी रहेका सबै अवैध संरचना नहटाएसम्म आफूहरू महानगरपालिका तथा सम्बन्धित वडाका सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभयो। महाअभियानले करिब आठ किलोमिटर लामो फिर्केखोलालाई अतिक्रमण, ढल मिसावट र फोहोरबाट जोगाउन नागरिकस्तरबाट दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। फिर्केखोला संरक्षण केवल वातावरणीय मुद्दा मात्र नभई पोखराको दीर्घकालीन अस्तित्व, फेवातालको संरक्षण र दिगो सहरी विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले कुनै पनि दबाब वा राजनीतिक स्वार्थका आधारमा अतिक्रमणकारीलाई संरक्षण नगर्न महाअभियानले पोखरा महानगरपालिकासँग आग्रह गरेको छ ।