
दीननाथ बराल,
पोखरा, ११ साउन,
पर्यटनको राजधानि पोखरामा पर्यटकमैत्री क्यू आर सेवा शुभारम्भ भएको छ । पोखरा पर्यटन परिषद् र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा विभिन्न पर्यटन संवद्ध संघ संस्थाको सहकार्यमा उक्त अभियान सुरु भएको प्रदेश प्रहरीले जनाएको छ । पोखरामा पर्यटन सुरक्षा र व्यवस्थापनलाई प्रविधिसँग जोड्ने अभियान सोमबारबाट सुरु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले बताउनु भयो ।
यसै क्रममा डिआइजी जिसीले पर्यटकमैत्री क्यू आर सेवा स्क्यान गरी पर्यटकमैत्री सूचना प्रणालीको औपचारिक शुभारम्भ गर्नुभयो । डिआइजी जिसीले गण्डकी प्रदेश प्रहरीले पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन अवलम्बन गरेका सुरक्षा रणनीति तथा भइरहेका प्रयासबारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धनमा प्रहरी र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो । कास्कीका प्रहरी प्रमुख नविन कार्कीले पोखरामा धेरै देशका पर्यटकहरु आउने हुदा आधारभूत सूचना तथा सन्देसहरु प्रयाप्त मात्रमा दिन नसक्दा पनि पोखरामा धेरै घटना तथा दुर्घटना तथा पर्यटकहरुले सास्ती भोग्नु परेको गुनासो गर्नुभयो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नमराज भट्टराईले पोखराका प्रमुख पर्यटकीय गन्तव्य, पार्किङ स्थल, प्रहरी चौकी, आपत्कालीन सम्पर्क नम्बर, गर्न हुने र नहुने गतिविधि, ट्राफिक नियम, सरसफाइसम्बन्धी जानकारी तथा नेपाल भ्रमणका आधारभूत नियमहरू एउटै माध्यमबाट सहजै प्राप्त गर्न सक्ने गरी क्यूआर कोर्ड सेवा उपलब्ध गराइएको बताउनु भयो । वाराहीचोक लगायत पर्यटकीय क्षेत्र, होटल तथा अन्य सार्वजनिक स्थानमा राखिने भएको छ भने जसले पर्यटकलाई आवश्यक सूचना तुरुन्तै उपलब्ध गराउनेछ । पर्यटकलाई लक्षित गरी सचेतनामूलक पर्चासमेत वितरण गरिने जानकारी दिँदै उहाँले पर्यटक भित्र्याउनु मात्र पर्याप्त नभई उनीहरूलाई व्यवस्थित र जिम्मेवार वातावरण प्रदान गर्नु सबैको साझा दायित्व भएको उहाँले उल्लेख गर्नुभयो । डीएसपी भट्टराईले सडकमा जथाभावी हिँड्ने, जेब्रा क्रसिङ अतिक्रमण गर्ने, अव्यवस्थित पार्किङ गर्ने, ट्राफिक नियम पालना नगर्ने जस्ता गतिविधिले पर्यटन व्यवस्थापनमा चुनौती थपिरहेको उल्लेख गर्दै यस्ता समस्या न्यूनीकरणका लागि यस्तो अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । जेठ महिनामा मात्रै पोखरा क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा २०४ जना भारतीयसहितका विदेशी पर्यटकमाथि कारबाही गरिएको उहाँले पोखराक्लिकलाई जानकारी दिनुभयो। डबल पार्किङ, हेल्मेट नलगाई सवारी चलाउने, ओभरलोड, मापसे, लापसे, अत्यधिक गति तथा नो–पार्किङ क्षेत्रमा सवारी पार्किङ गरेका कारण कारबाही गर्नुपरेको उहाँको भनाइ थियो।
यसैबिच, सोमबार पोखरामा अन्तरक्रियाका क्रममा पर्यटन व्यवसायीहरूले पर्यटक सुरक्षासँग सम्बन्धित चुनौती, ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन, पर्यटकको आचरण तथा पर्यटन क्षेत्रका अन्य समस्याबारे आफ्ना धारणा र जिज्ञासा राख्नुभएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, पोखरा भ्रमण बर्षका निवर्तमान संयोजक गोपी बहादुर भट्टराई लगायतको सहभागिता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक थापाले बताउनु भयो ।




