
पोखरा, जेठ २८,
पोखराको मासवारस्थित मदरल्याण्ड माविले थाइल्याण्डमा भएको एआई र रोबोटिक्स सम्बन्धि प्रतिश्पर्धामा तीन स्वर्ण, दुई रजत र एक काँश्य हात पारेको छ । जिस्ट इन्टरनेशनल फाउन्डेसनले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरेको उक्त प्रतिश्पर्धामा नेपाल सहित विभिन्न सातवटा मुलुकका विभिन्न कलेजका विद्यार्थीले भाग लिएका थिए ।
विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (स्टिम) ओलम्पियाड तथा रोबोटिक्स बुटक्याम्पमा पनि विद्यार्थीले सहभागितासँगै प्रतिश्पर्धा गरेका थिए । मदरल्याण्ड माविका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार विद्यालयका एकजना शिक्षक सहित १० जना विद्यार्थी यो प्रतिश्पर्धामा भाग लिन थाइल्याण्ड गएका थिए ।
विद्यालयका अनुसार शभ्य मल्ल, निस्चल बाँस्तोला, ओम विक, अभिनव पराजुली, सज्जनमणि पौडेल, आदित्य खत्री, विशेष बराल, निजोल पौडेल, ओमकार बराल र निओन पौडेलले उक्त प्रतिश्पर्धामा भाग लिएका थिए । टिमको नेतृत्व शिक्षक बामन घिमिरेले गरेका थिए । ‘अन्तर्राष्ट्रियस्तरको यो प्रतिश्पर्धाले नेपालका विद्यार्थीको पहिचान फराकिलो बनाएको छ । प्रविधिको प्रयोगमा पोखराले फड्को मारेको यसले देखाउँछ,’ आचार्यले भने ।
विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीले पछिल्लो समय प्रविधिको प्रयोगलाई बढाउँदै जाँदा उनीहरु अब्बल बनेको बताए । ‘अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्नका लागि नेपाली विद्यार्थी सक्षम भएको यो प्रतिश्पर्धाले पनि देखाएको छ । विद्यार्थीको प्रविधिप्रतिको रुचीलाई पनि उजागर गरेको छ,’ बरालले भने, ‘विद्यालयले विद्यार्थीको रुचीलाई ध्यान दिएर आगामि दिनमा पनि प्रविधिमैत्री वातावरण बनाइदिनेछ ।’
अवार्ड विजेता मदरल्याण्ड टिम ।






