पोखराका सामुदायिक सहित निजी अस्पतालका इमर्जेन्सी बाहेक सबै सेवा ठप्प, सेवाग्राही मर्कामा

-


     पोखरा क्लिक     
     श्रावण १२ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, साउन १२,

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत मंगलबार पोखरा तथा कास्कीका सरकारी, सामुदायिक र निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। ओपीडी, नियमित स्वास्थ्य परीक्षण तथा अन्य गैर–आकस्मिक सेवा ठप्प हुँदा उपचारका लागि बिहानै अस्पताल पुगेका हजारौँ सेवाग्राही मर्कामा परेका हुन् ।

नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा.सुनिल शर्माले नेपाल चिकित्सक संघको केन्द्रीय निर्देशनअनुसार गण्डकी प्रदेशका चिकित्सकहरू आन्दोलनमा सहभागी भएको जानकारी दिनुभयो। उहाँका अनुसार नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने उहाँले पोखराक्लिकलाई बताउनु भयो । “चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति राज्यले दिनुपर्छ। स्वास्थ्य संस्थामा हुने आक्रमण र तोडफोड कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ । ” अध्यक्ष शर्मा भन्नुहुन्छ।

नेपाल चिकित्सक संघले साउन ११ गते जारी गरेको विज्ञप्तिमा साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा बिरामी राजकुमार पटेलको मृत्यु भएपछि अस्पतालमा भएको तोडफोड, ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको घोर भर्त्सना गरेको छ। संघले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कारबाही गर्न माग गर्दै देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनबाट बिरामीलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरिएको छ। साथै चिकित्सकमाथिको आक्रमण र स्वास्थ्य संस्थामा हुने हिंसात्मक गतिविधि रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ।

आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल, मेट्रोसिटी अस्पताल, पद्मा श्री अस्पताल, साहारा अस्पताल, शिशुवा अस्पताल, पोखरा शिक्षण अस्पताल, पद्म नर्सिङ होम, मातृशिशु अस्पताल, मेडि प्लस एण्ड ट्रमा सेन्टर लगायत कास्कीका अधिकांश सरकारी तथा निजी अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा प्रभावित भएको नेपाल चिकित्सक संघ गण्डकी शाखाले जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशील कुमार अर्यालले चिकित्सक संघको आन्दोलनका कारण मंगलबार बिहानदेखि ओपीडी सेवा बन्द भएको जानकारी दिनुभयो। “अस्पतालमा दैनिक दुई हजार २ सय भन्दा बढी बिरामी उपचारका लागि आउनुहुन्छ। सेवा बन्दको सूचना ढिलो सार्वजनिक भएकाले धेरै बिरामी बिहानै अस्पताल आइपुग्नुभएको थियो। उपचार नपाउने जानकारी पाएपछि धेरैजना निराश भएर घर फर्किन बाध्य हुनुभयो । ” उहाँले भन्नुभयो।

अस्पतालमा बिहानैदेखि उपचारका लागि पुगेका वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती महिला तथा टाढाका जिल्लाबाट आएका बिरामीहरू सेवा नपाउँदा निरास हुदै घर फर्किनु भएको थियो । कतिपय बिरामी निजी क्लिनिक र अन्य स्वास्थ्य संस्थातर्फ जान बाध्य हुनु भएको छ । अत्यावसेक सेवा बन्द हुनु गम्भिर बिषय भएकोले यसको विवाद तत्काल टुंगाउन सेवाग्राहीहरुले जोडदार माग गर्नु भएको छ । साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका चिकित्सक डा. प्रमोद राममाथि आक्रमण गरेको आरोप छ । घटनामा डा.रामको टाउकोमा गम्भीर चोट लागेको छ र उहाँ उपचाररत हुनुहुन्छ। यही घटनालाई लिएर नेपाल चिकित्सक संघले दोषीमाथि कानुनी कारबाही, चिकित्सकको सुरक्षाको सुनिश्चितता तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण रोक्न माग गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको जनाएको छ ।