पोखराबाट दुबई नियमित उडान गर्ने फ्लाईदुबईको घोषणा, पर्यटन व्यवसायी उत्साहित

-


     पोखरा क्लिक     
     जेठ २६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २६, जेठ,

करिब साढे तीन वर्षअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले पोखरा–दुबई रुटमा दैनिक उडान सञ्चालन गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति प्राप्त गरेसँगै फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा दैनिक नियमित उडान सुरु गर्ने तयारी गरेको हो ।

प्रारम्भिक चरणमा एक महिनाका लागि अनुमति पाएको कम्पनीले यात्रुको माग र व्यावसायिक सम्भावनाको मूल्याङ्कनपछि थप उडानको निर्णय गर्ने कम्पनीले जनाएको छ । उक्त निर्णयले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले फ्लाई दुबई कम्पनीको एक टोलीले केही समय पोखरा विमानस्थलको बस्तु स्थिती समेत बुझेका कारण अनुमति माग भएकोले क्यानबाट अनुमति प्राप्त भएको जनाउनु भयो ।

पोखराबाट मध्यपूर्वको प्रमुख हवाई केन्द्र दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुनुले गण्डकी प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । दुबई विश्वकै महत्वपूर्ण ट्रान्जिट हबमध्ये एक भएकाले त्यहाँबाट युरोप, अमेरिका, अफ्रिका, मध्यपूर्व तथा एसियाका गरी २ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थलसँग पोखराको पहुँच विस्तार हुने अपेक्षा गरिएको उहाँले दाबी गर्नुभयो ।

फ्लाईदुबईको नियमित उडान पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक अवसर भएको उहाँले बताउनु भयो । यसअघि विभिन्न मुलुकबाट चार्टर्ड तथा सिमित समयको लागि उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा विमानस्थलको पूर्ण उपयोग हुन सकेको छैन् । “पोखराबाट सिधै दुबई पुग्ने व्यवस्था हुनु भनेको विश्वका सयौं गन्तव्यसँग जोडिने ढोका खुल्नु हो । यो पोखरेलीका लागि मात्र होइन, समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि खुसीको विषय हो,” श्रेष्ठले भन्नुभयो, “अब यो उडानलाई दीर्घकालीन र नियमित बनाउन सबै पक्ष एकजुट हुन आवश्यक छ।”

पर्यटन व्यवसायीहरूले पनि यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार पोखरा आउने विदेशी पर्यटकको संख्या बढाउन, अन्तर्राष्ट्रिय बजारमा गन्तव्यको प्रवद्र्धन गर्न तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज हवाई पहुँच उपलब्ध गराउन यो उडान महत्वपूर्ण बन्नेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले पनि पोखरा–दुबई उडान केवल हवाई सेवा विस्तारको विषय नभई पर्यटन, लगानी, व्यापार र आर्थिक गतिविधि विस्तारको ऐतिहासिक अवसर भएको बताउनु भएको छ । उहाँले प्रारम्भिक चरणको उडान सफल बनाउन पर्यटन व्यवसायी, पोखरेली नागरिक तथा विदेशमा रहेका नेपालीलाई पोखरा–दुबई रुट प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

फ्लाई दुबईले सञ्चालन गर्ने बोइङ जहाजमा १ सय ६६ यात्रु क्षमताको व्यवस्था रहनेछ । जहाज हरेक दिन साँझ पोखरा अवतरण गरी करिब पाँच घण्टाको उडानपछि दुबई पुग्ने तालिका रहेको छ । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको यो अवसरलाई पर्यटन क्षेत्रले सुनौलो सम्भावनाका रूपमा लिएको छ । सरोकारवालाहरूले सबै पक्षको सहकार्यबाट यो सेवा दीर्घकालीन रूपमा सञ्चालन हुन सके पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।