भीआर मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार किशोरको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

-


     पोखरा क्लिक     
     जेठ १८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, जेठ १८,

पोखराको न्यूरोड क्षेत्रमा आइतबार भएको सवारी दुर्घटनामा स्कुटरमा सवार एक किशोरको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकाको पुरानो कार्यालय अगाडिको सडकमा ग १८ प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १० प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १७ वर्षीय सिजन तिवारी गम्भीर घाइते भएका थिए तर उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

पोखरा–२८ स्थायी घर भई हाल पोखरा–११ फुलवारी बस्दै आएका तिवारीलाई दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि न्यूरोडस्थित पद्मश्री अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले पोखराक्लिकलाई जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा तिवारीको टाउकोमा गम्भीर चोट लागेको थियो भने अत्यधिक रक्तस्राव भएको थियो। स्कुटर पोखरा–२६ माझठानाका विष्णु तिवारीले चलाइरहेका थिए। दुर्घटनामा संलग्न मोटरसाइकल चालक पोखरा नागढुंगाका मौसम गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ। फोटो एआईजेनेरेट