मानवसेवा आश्रमको महायज्ञमा पाण्डे दम्पतीको पुनः ५४ लाख सहयोग, कुल योगदान ८५ लाख

-


     पोखरा क्लिक     
     वैशाख २५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २५ वैशाख,

पोखरा–८ निवासी उद्योगपति तथा समाजसेवी हरि पाण्डे र तुलसा पाण्डे दम्पतीले मानवसेवा आश्रम, पोखरा–हेम्जामा जारी “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा पुनः ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । यसअघि समेत आश्रमको भवन निर्माणका लागि उल्लेखनीय सहयोग गरिसक्नुभएका पाण्डे दम्पतीको कुल योगदान हाल ८५ लाख रुपैयाँभन्दा बढी पुगेको आश्रमले पोखराक्लिकलाई जनाएको छ ।

आफ्नो वैवाहिक जीवनको ५९ औँ वर्षगाँठलाई मानवसेवा, धर्म र परोपकारमा समर्पित गर्दै पाण्डे दम्पतीले उक्त सहयोग गर्नुभएको मानवसेवा आश्रमका आशिस गौतमले बताउनु भयो । उहाँहरूले आजीवन वार्षिक भोजन सेवा अन्तर्गत १८ दिनको भोजन सेवा सदस्यता ग्रहण गर्दै १८ लाख ८८ हजार ८ सय ८६ रुपैयाँ सहयोग गर्नुभएको छ भने मुक्तिनाथ सेवा धर्मशाला निर्माणका लागि पाँच कोठा निर्माणार्थ ३५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ अर्पण गर्नुभएको यज्ञ मूल आयोजक समितिले जनाएको छ । यसअघि सञ्चालन गरिएको महायज्ञमार्फत पनि पाण्डे दम्पतीले भवन निर्माण सम्पन्नताका लागि पाँच कोठा निर्माणार्थ ३० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गर्नुभएको थियो । पछिल्लो सहयोगसँगै उहाँहरूको कुल योगदान ८५ लाख रुपैयाँ नाघेको हो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले वैवाहिक वर्षगाँठजस्तो व्यक्तिगत अवसरलाई मानवताको सेवामा समर्पित गर्दै गरिएको योगदान अत्यन्त प्रेरणादायी रहेको बताउनुभयो । उहाँले पाण्डे दम्पतीको सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा ठूलो टेवा पुगेको उल्लेख गर्नुभयो । मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका पाण्डे दम्पती समाजका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँले मानवसेवा, धर्म, करुणा र परोपकारप्रतिको उहाँहरूको समर्पणले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । मानवसेवा आश्रम, पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित महायज्ञ सञ्चालन भइरहेको छ । आश्रमका अनुसार महायज्ञबाट संकलित रकम निर्माणाधीन संरचना सम्पन्न गर्न तथा सेवा विस्तारमा खर्च गरिनेछ ।

अध्यक्ष अधिकारीका अनुसार करिब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ । विगत १३ वर्षदेखि आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । हाल देशका २३ जिल्लामा रहेका ३४ सेवा केन्द्रमार्फत करिब २ हजार २ सय जनालाई सेवा प्रदान भइरहेको आश्रमले जनाएको छ । पोखराका दुई केन्द्रमा मात्रै करिब ३ सय जना आश्रित रहेका छन् ।

आश्रमका अभियन्ता आशिष गौतमका अनुसार महायज्ञमार्फत हालसम्म १ करोड ७ लाख रुपैयाँभन्दा बढी आर्थिक संकलन भइसकेको छ । दाताहरूबाट करिब ६० लाख रुपैयाँ तथा पोखरा महानगरपालिकाबाट साढे २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा भएको उहाँले जानकारी दिनुभयो । आयोजकका अनुसार महायज्ञ आर्थिक संकलनमा मात्र सीमित नभई धार्मिक, सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको छ । महायज्ञ यही वैशाख २६ गते शनिबारसम्म संचालन हुने भएको छ । उक्त महायज्ञको प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौमतले कर्णप्रिय ढंगले प्रस्तुतः गर्नु भएको छ ।