कुमुदिनी होम्स दोस्रो एसईई कप फुटसलको उपाधि राष्ट्रिय उच्च माविलाई, बास्केटवल छात्र तर्फ अल्फा, छात्रा तर्फ भने गण्डकी बोर्डिङलाई उपाधि

-


     पोखरा क्लिक     
     वैशाख २३ गते २०८३ मा प्रकाशित


पोखरा २३, वैशाख,

पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयकोे आयोजनामा हालै सम्पन्न दोस्रो “एसईई कप” अन्तर्गत फुटसल तथा बास्केटबल प्रतियोगिता अन्र्तगत राष्ट्रिय उच्च माध्यमिक विद्यालयले फुटसलतर्फ उपाधि जितेको छ । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय उच्च माविले उपाधिसहित प्रमाणपत्र, मेडल, ट्रफी र नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

देवीनगर, बुटवलको नवीन माध्यमिक विद्यालय दोस्रो हुँदै १५ हजार रुपैयाँ तथा सेन्ट फ्रान्सेस स्कुल तेस्रो हुँदै ७ हजार रुपैयाँसहित पुरस्कृत भयो । फुटसलतर्फ विभिन्न जिल्लाका ६० विद्यालय बीच प्रतिस्पर्धा भएको थियो ।
त्यसै गरी बास्केटबल छात्रतर्फ अल्फा बोर्डिङ स्कुल र छात्रातर्फ गण्डकी बोर्डिङ स्कुलले उपाधि हात पारेका छन् । छात्र बास्केटबलतर्फ ३२ विद्यालय सहभागी भएको प्रतियोगितामा अल्फा बोर्डिङ स्कुल प्रथम भई २० हजार रुपैयाँसहित उपाधि जित्न सफल भयो। म्याग्दीको मंगला माध्यमिक विद्यालय दोस्रो हुँदै १५ हजार रुपैयाँ तथा मनकामना बोर्डिङ स्कुल तेस्रो हुँदै ७ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो ।

छात्रा बास्केटबलतर्फ १३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्यो र १५ हजार रुपैयाँ प्राप्त ग¥यो। बालकल्याण हाई स्कुल दोस्रो हुँदै १० हजार रुपैयाँ तथा आयोजक कुमुदिनी होम्स तेस्रो हुँदै ५ हजार रुपैयाँसहित पुरस्कृत भयो । व्यक्तिगत विधातर्फ फुटसलमा नवीन माध्यमिक विद्यालयका मानस स्याङ्ने थकाली उत्कृष्ट खेलाडी घोषित हुदाँ राष्ट्रिय उच्च माविका विवश तिमिल्सिना उत्कृष्ट गोलरक्षक र दिनेश उपरकोटी सर्वाधिक गोलकर्ता घोषित हुनु भयो ।उहाँहरुले जनही २ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

छात्रा बास्केटबलतर्फ गण्डकी बोर्डिङ स्कुलकी ईशिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदा बालकल्याण हाई स्कुलकी अलिशा गुरुङ हाई स्कोरर को उपाधि जित्नुभयो । छात्र बास्केटबलतर्फ अल्फा बोर्डिङ स्कुलका अभिषेक श्रेष्ठ उत्कृष्ट खेलाडी तथा मंगला माध्यमिक विद्यालयका सचिन पुन हाई स्कोरर घोषित हुनुभयो भने उहाँहरुलाई ट्रफी, प्रमाणपत्र र नगद २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प््रातियोगिता बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न भएको थियो। उहाँले विद्यार्थीहरूलाई बधाई दिँदै पुरस्कार वितरण गर्नू भएको हो । खेलकुदले अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने बताउदै पालिखेले कक्षा ११ मा भर्ना हुने विजेता विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति सहित विशेष सुविधा प्रदान गरिने जनाए ।

कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले खेलकुदको बढ्दो महत्वलाई ध्यानमा राख्दै विद्यार्थीहरूलाई आफ्नो रुचिअनुसारको खेलमा सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य राजबहादुर गुरुङले मन्तव्य व्यक्त गरेका थिए भने शिक्षक सुरेन्द्र सदिच्छाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।