
पो्खरा,
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभापछि नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार पोखराका अन्जन श्रेष्ठ नयाँ अध्यक्षको जिम्मेवारी पाएका छन् ।
अब आगामी तीन वर्षसम्म उनले देशभरका उद्योगी–व्यवसायीको नेतृत्व गर्नेछन्। नयाँ नेतृत्वसँगै महासंघभित्र नयाँ कार्यसमिति गठन हुने प्रक्रिया समेत अघि बढेको छ, जहाँ उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरे नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा भएको छ।
श्रेष्ठका ५ प्राथमिकता
अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका लागि पाँच प्रमुख प्राथमिकता सार्वजनिक गरेका छन्, जसले निजी क्षेत्र र सरकारबीचको सम्बन्धदेखि लगानी वातावरणसम्मलाई समेटिएका छन् ।
सरकार–निजी क्षेत्र सम्बन्ध पुनःपरिभाषाः
अध्यक्ष श्रेष्ठले निजी क्षेत्रलाई ‘साक्षी’ होइन, ‘सहकार्यकर्ता’को रूपमा स्थापित गर्न चाहन्छन्। नीति, बजेट, कानुन निर्माणदेखि अन्तर्राष्ट्रिय वार्तासम्म निजी क्षेत्रको भूमिका सुनिश्चित गर्ने उनको लक्ष्य छ।
निजी क्षेत्रप्रतिको धारणा परिवर्तनः
उनले समाजमा व्यवसायीलाई नकारात्मक रूपमा हेर्ने प्रवृत्ति बदल्ने अभियान सञ्चालन गर्ने बताएका छन्। व्यवसायीलाई कर छली गर्ने होइन, राष्ट्रको आर्थिक साझेदारका रूपमा स्थापित गर्ने उनको योजना छ।
लगानी र सम्पत्तिको सुरक्षाः
व्यावसायिक हक र लगानीको सुरक्षा हो। व्यावसायिक विवादलाई अपराधका रूपमा हेर्ने प्रवृत्ति हटाउन र छिटो समाधानको व्यवस्था गर्न महासंघ सक्रिय हुने बताइएको छ।
निजी लगानी प्रवर्द्धनः
देशभित्रको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने, र विदेशी लगानीलाई सहज बनाउने वातावरण तयार गर्न सरकारसँग निरन्तर संवाद गर्ने प्रतिबद्धता श्रेष्ठले व्यक्त गरेका छन्।
संघहरूको सशक्तीकरणः
महासंघलाई केन्द्रमा सीमित नराखी प्रत्येक जिल्ला र प्रदेशसम्म प्रभावकारी बनाउने योजना अघि सारिएको छ। सचिवालयलाई अझ व्यावसायिक र सेवामुखी बनाउने पनि उनको प्राथमिकतामा परेको छ।
चुनौती र अवसर दुवैः
अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा अवसर र चुनौती दुवै रहेको बताएका छन्। स्थिर सरकार, बलियो विदेशी मुद्रा सञ्चिति र सुशासनप्रतिको प्रतिबद्धतालाई अवसरका रूपमा लिइएको छ भने बढ्दो राजस्व–खर्च अन्तर, कर्जा प्रवाहमा समस्या र व्यवसायीको घट्दो मनोबललाई चुनौतीका रूपमा औंल्याइएको छ।



