
दीननाथ बराल,
पोखरा ११, चैत
पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन अबस्थामा रहेको ‘पोखरा घर’ आउँदो वैशाख अन्तिम सातादेखि सञ्चालनमा ल्याउने भएको छ । उक्त भवनको हालसम्म करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी केही फिनिसिङ र विद्युत जडानको काम भई रहेको पोखरा महानगरले पोखराक्लिकलाई जनाएको छ ।
उक्त भवन निर्माणको मुख्य काम लगभग सकिएकाले सञ्चालन सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो । परम्परागत र आधुनिक वास्तुकलाको संयोजनमा निर्माण गरिएको ‘पोखरा घर’ पोखराको पहिचान र गौरवको रूपमा स्थापित गर्न खोजिएको उहाँले जनाउनु भयो । उक्त भवन निर्माणले पोखराको एउटा छुट्टै पहिचान हुने मेयर आचार्यले दाबी गर्नुभयो । महानगरपालिकाको भवन तथा पूर्वाधार शाखा प्रमुख इञ्जिनियर लक्ष्मी प्रसाद गौतमले २८५ वर्ग मिटर क्षेत्रफलमा ‘जेड’ आकारमा निर्माण गरिएको यस पाँच तले भवनमा अण्डरग्राउण्ड पार्किङको सुविधा पनि उपलब्ध रहेको बताउनु भयो । अब विद्युत जडान र घण्टाघर स्थापना केही भित्रि सरसफाईको काम सकिएसंगै भवन पूर्ण रूपमा सम्पन्न हुने उहाँले बताउनु भयो ।
२०७९ साल फागुन २७ गते शिलान्यास गरिएको उक्त भवन करिब दुई वर्षको अवधिमा निर्माणको अन्तिम चरणमा पुगेको हो। कुल ६ करोड १२ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको यस भवनले बहुउद्देश्यीय सेवा प्रदान गर्ने भएको ई.गौतमले जनाउनु भयो । पहिलो तलामा कोशेली घर र सूचना केन्द्र रहनेछन् भने यात्रुहरूलाई लक्षित गरी स्नानघर तथा शौचालयको व्यवस्था गरिएको छ । एकैपटक ७–८ जनाले स्नान गर्न सक्ने, १० जनाले पिसाब गर्न मिल्ने तथा महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरूका लागि अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ । साथै, ४ सिट क्षमताको लिफ्ट सेवा पनि उपलब्ध रहेको छ ।
दोस्रो तलामा पुस्तकालय र बैठक कक्ष रहनेछ भने तेस्रो तलामा आर्ट ग्यालरी, पोखरा प्राज्ञाको लागि एक कोठा रहने भएको छ र मिटिङ हलको व्यवस्था गरिएको छ। पुस्तकालय र आर्ट ग्यालरी दुवैका लागि समान २८५ वर्ग मिटर क्षेत्रफल छुट्याइएको छ । भवनको माथिल्लो भागमा आकर्षक घण्टाघर रहनेछ, जसले समयको जानकारी दिनेछ । पृथ्बीराजमार्ग तर्फ र पोखरा बसपार्क तर्फ घढी रहने भएको हो । यसअघि पोखराको महेन्द्रपुलमा रहेको पुरानो पुस्तकालय र आर्ट ग्यालरी भवन जीर्ण भएपछि भत्काइएको थियो । अब तिनै सेवाहरूलाई थप आधुनिक सुविधासहित ‘पोखरा घर’मार्फत पुनः सञ्चालनमा ल्याइने तयारी गरिएको छ । ‘पोखरा घर’मा पोखराको कला, संस्कृति र आधुनिक जीवनशैलीको समिश्रण झल्किनेछ । बार्दली शैलीको सांस्कृतिक झल्कोसँगै आधुनिक संरचनात्मक प्रविधि प्रयोग गरी बनाइएको यस भवनलाई समग्र पोखराको जानकारी दिने केन्द्रको रूपमा विकास गर्ने लक्ष्य महानगरपालिकाले लिएको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो ।



