कास्कीमा हाल ग्यास र पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या छैन, अनावश्यक स्टक नगर्न प्रशासनको चेतावनी

-


     पोखरा क्लिक     
     फागुन ३० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ३० फागुन

कास्कीमा हाल खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेकोले अनावश्यक रुपमा रूपमा भण्डारण नगर्न कास्की प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । सम्भावित संकटलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अनावश्यकता स्टक नगर्न चेतावनी समेत दिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज (शनिबार) बसेको आपूर्ति समन्वय बैठकले एलपी ग्यास र पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ । बैठकले बजारमा आपूर्ति र वितरणलाई व्यवस्थित गर्न सम्बन्धित निकायलाई जिम्मेवारी सहितका निर्देशन दिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । कास्कीमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको अभाव नभए पनि सम्भावित संकटलाई ध्यानमा राख्दै पूर्वतयारी स्वरूप अनुगमन तथा व्यवस्थापनका काम सुरु गरिएको उहाँले बताउनु भयो । “कसैले आवश्यकता भन्दा बढी ग्यास वा पेट्रोलियम पदार्थ स्टक गरेको पाइएमा नियमानुसार कारबाही हुन्छ,” उहाँले चेतावनी दिनु्भयो ।

बैठकले ग्यास उद्योग तथा विक्रेताले आफूले प्राप्त गरेको र वितरण गरेको ग्यासको परिमाणको दैनिक अभिलेख राखी हरेक दिन जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गर्नुपर्ने निर्णय गरेको छ । साथै प्रमाणपत्र प्राप्त विक्रेताले मात्र ग्यास बिक्री वितरण गर्न पाउने व्यवस्था पनि कडाइका साथ लागू गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो । त्यस्तै, जिल्लामा रहेका ग्यास उद्योगहरूले आफ्नो उद्योगबाट प्रमाणित डिलरहरूको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने तथा अन्य जिल्लाका उद्योगबाट कास्कीमा ग्यास वितरण गर्ने डिलरहरूको विवरण ग्यास विक्रेता संघले प्रशासनलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । बैठकले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा न्यूनतम परिमाणमा ग्यास उपलब्ध गराउन विक्रेतालाई आग्रह गरेको छ ।

ग्यास उद्योग सञ्चालकहरूले उद्योगबाट वितरण भएको ग्यास उचित रूपमा बिक्री वितरण भए–नभएको, अनावश्यक सञ्चिति वा मूल्यवृद्धि भएको–नभएको विषयमा अनुगमन गर्ने निर्णय पनि गरिएको छ । साथै उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उपभोक्ता मञ्च लगायतका निकायले समेत बजारको सूक्ष्म अनुगमन गरी प्रशासन तथा प्रहरीलाई जानकारी गराउने व्यवस्था गरिएको छ । त्यसैगरी नेपाल आयल निगमका निर्णयहरू सबै ग्यास उद्योगहरूले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, पेट्रोल तथा हवाई डिपोहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण व्यवस्थित गर्नुपर्ने तथा यसको निरन्तर अनुगमन नेपाल आयल निगम पोखरा डिपोले गर्ने निर्णय गरिएको छ । बैठकले बोतल, जर्किन लगायतमा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय पनि गरेको छ । यस्तो कार्य गरेको पाइएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

ग्यासको सम्भावित अभावलाई ध्यानमा राख्दै प्रशासनले एलपी ग्यासको विकल्पका रूपमा विद्युतीय चुल्हो प्रयोग गर्न पनि उपभोक्तालाई आग्रह गरेको छ । कास्कीमा हाल गृहलक्ष्मी र शक्ति ग्यासका उद्योग सञ्चालनमा रहे पनि अन्य १२ वटा विभिन्न कम्पनीका ग्यास पनि जिल्लामा भित्रिएकोले त्यसको वास्तविक मौज्दात तथा वितरण अवस्थाको तथ्यांक उपलब्ध गराउन प्रशासनले ग्यास विक्रेता महासंघलाई आग्रह गरेको छ । गण्डकी–धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष मोहन सुवेदीले कास्कीमा हाल पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नभएको भन्दै जोखिमपूर्ण रूपमा बोतल वा जर्किनमा इन्धन नराख्न आग्रह गर्नुभयोे । ग्यास विक्रेता महासंघका केन्द्रीय सदस्य नारायणप्रसाद पौडेलले पनि हाल जिल्लामा खाना पकाउने ग्यासको अभाव नरहेको जानकारी दिनुभयो । ग्याँस नपाउदा केहीले धम्की समेत दिन थालेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नागरिक समाजका अगुवा रामबहादुर पौडेल, गृहलक्ष्मी ग्यासका सञ्चालक धर्मराज वतौला, रेवान पोखराका महासचिव विरेन्द्र शेरचन, होटल संघ पोखरा नेपालका कोषाध्यक्ष रमेश पौडेल तथा उद्योग वाणिज्य महासंघ गण्डकीका पूर्व अध्यक्ष संजिवबहादुर कोइरा लालगायतले बजार अनुगमनलाई प्रभावकारी बनाउन र आपूर्ति सहज बनाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनु भएको थियो । बैठकमा आयल निगम गगनगौँडा डिपो, ग्यास उद्योग तथा विक्रेता, उद्योगी–व्यवसायी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उपभोक्ता मञ्च, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।