
दीननाथ बराल,
पोखरा, ८, फागुन,
लमजुङको दोर्दी गाउँपालिका–३ स्थित मञ्जाङ लामागाउँमा रहेको कृष्ण प्रमोद प्रा.वि. लाई पोखराका पर्यटन व्यवसायी तथा वरपिपल रिसोर्टका सञ्चालक अमरजङ गुरुङ (जितु) परिवारले डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुका साथै दुई थान कम्प्युटर, एक थान प्रिन्टर, खेल पोशाक हस्तान्तरण गर्नुभएको छ । विद्यालयको ५० औँ स्वर्ण जयन्ती तथा अभिभावक दिवसको अवसर पारेर गुरुङ र उहाँकी धर्मपत्नी शिला गुरुङले स्वर्गीय बुबा–आमाको स्मृतिमा रु. १ लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।
साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षण सिकाइमा टेवा पु¥याउने उद्देश्यले दुई थान कम्प्युटर पनि प्रदान गरिएको विद्यालयले पोखराक्लिकलाई जनाएको छ । लमजुङ घर भई हाल पोखरामा बसोबास गर्दै आउनुभएका गुरुङ एक सफल युवा होटल व्यवसायी, सामाजिक कार्यमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिले गुरुङ परिवारको सहयोगले विद्यालयको दीर्घकालीन शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । जितु गुरुङ परिवार सहित अन्य दाताहरुको सहयोगबाट करिब १५ लाख रुपैया आर्थिक संकलन भएको बिद्यालयका प्रधान्ध्यापक हरीराज घिमिरेले पोखराक्लिकलाई जनाउनु भयो । बिद्यालयमा हाल ३० जना मात्र बिद्यार्थी अध्ययनरत रहेका छन् । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा स्वर्ण महोत्सव विहिबार सम्पन्न भएको हो । संविधान सभा सदस्य बुद्धिराम गुरुङले उक्त स्वर्ण महोत्सवको समापन गर्नु भएको थियो ।बिद्यालयले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो ।
यसैबिच पर्यटन व्यवसायी जितु गुरुङ र उहाँको परिवारले दोर्दी ३ मा रहेको लक्ष्मी माविको २५ औं बार्षिकोत्सवको अवसरमा केही समय अघि ५ थान कम्प्यूटर, १ सय २० थान ट्याकसुट सेट, शैक्षिक सामाग्रि (कापी, कलम लगायत) सहयोग गर्नु भएको थियो । त्यसै गरी उहाँले आमा बाबुको स्मृतिमा अक्षयकोषमा २ लाख रुपैया सहयोग गर्नु भएको छ ।




