सिक्लेसको दिगो पर्यटनको लागि उम्मेदवार राजकाजी गुरुङ कटिवद्ध

-


     पोखरा क्लिक     
     फागुन ८ गते २०८२ मा प्रकाशित


पोखरा,

कास्कीको पर्यटकीय गाउँको दिगो पर्यटनको लागि कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ(करण) कटिवद्ध भएको बताउनु भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार करणको घरदैलो कार्यक्रमका क्रममा सिक्लोसीहरुसंग भेटघाट गर्दै उहाँले सिक्लेसको दिगो र पर्यापर्यटनको बिषयमा आफु गम्भिर भएको बताउनु भएको हो ।

उहाँले मादी गाउँपालिका वडा नम्बर १ स्थित पर्यटकीय गाउँ सिक्लेस मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । रदैलोका क्रममा सिक्लेस आमा समूहले उम्मेदवार गुरुङसहितको टोलीलाई भव्य स्वागत गर्नु भएको थियो । आमा समूहकी अध्यक्ष सन्तोषी गुरुङले क्षेत्र नम्बर १ मा गुरुङ समुदायको उम्मेदवार पाउनु समुदायका लागि खुशीको विषय भएको बताउँदै मतदान गरेर विजयी गराउनु आफ्नो कर्तव्य भएको उल्लेख गर्नुभयो। उहाँले सिक्लेससम्म पुग्ने सडकको अवस्था नाजुक रहेको भन्दै सुधारका लागि पहल गरिदिन अनुरोध गर्नुभयो। युवा व्यवसायी किरण गुरुङले भिजन भएका नेता राजकाजी गुरुङलाई जिताउन सम्पूर्ण गुरुङ समुदाय एकजुट हुनुपर्ने धारणा राख्नुभयो।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार सोमती गुरुङ र दिलु पन्तले संविधानको रक्षा गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी भएकाले समानुपातिक मत पार्टीलाई दिन आग्रह गर्नुभयो। प्रदेश सभाकी पूर्व सांसद गायत्री गुरुङले केन्द्रसँग प्रत्यक्ष सम्बन्ध भएका नेताका रूपमा राजकाजी गुरुङलाई विजयी गराउन अपिल गर्नुभयो। पूर्व संविधान सभा सदस्य कृष्ण गुरुङले गुरुङ समुदाय विदेश पलायनभन्दा देशमै अध्ययन र विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो। केन्द्रीय सदस्य पूर्ण लामा तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले व्यवस्था र संविधान जोगाउन पार्टीलाई जिताउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उम्मेदवार राजकाजी गुरुङले सिक्लेस केवल पर्यटकीय गाउँ मात्र नभई गुरुङ समुदायको ऐतिहासिक थातथलो भएकाले यसको संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पोखरा–सिक्लेस सडक सुधार, शिक्षा, स्वास्थ्य, पर्यटन र जलविद्युत विकासलाई प्राथमिकतामा राख्ने बताउँदै जलविद्युतबाट स्थानीय जनताले पाउने सेवा–सुविधामा विशेष ध्यान दिने उल्लेख गर्नुभयो।

घरदैलो कार्यक्रममा प्रदेश कमिटी सदस्य तोरण गुरुङ, लालबहादुर गुरुङ, मादी गाउँपालिका अध्यक्ष मित्र गुरुङ, उपाध्यक्ष अन्जु गुरुङ, सचिव रामकृष्ण अधिकारीलगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत पर्छे, खिलाङ, चिप्ली, तप्राङलगायत स्थानमा पुगेर जनताका गुनासा सुन्दै गुरुङले सबै प्रकारका समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।