पोखरामा जारी मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टनको आज फाइनल खेल सहित समापन हुने

-


     पोखरा क्लिक     
     फागुन ३ गते २०८२ मा प्रकाशित


पोखरा, ३ फागुन,

पर्यटनको राजधानी पोखरामा जारी पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को फाइनल खेल सहित आज समापन हुने भएको छ । प्रतियोगिता अन्र्तगत आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू सहित समापन हुने भएको प्रतियोगिताका संयोजक बरदान ताङवे लामाले बताउनु भयो ।

यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, विराट बस्नेत, आश्रुर्ति कार्की, सक्षम गुरुङ, सुरेस राजकोटी र अजेरेन्का शेरचन लगायतका चर्चित खेलाडीहरूले आ–आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नु भएको उहाँले जनाउनु भयो । आइतबार दिउसो ३ः०० बजे फाइनल खेलहरु सहित समापन हुने भएको फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले बताउनु भयो ।

पोखरा–१०, हस्पिटलचोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा सञ्चालन भइरहेको प्रतियोगितामा यू–११, यू–१३, यू–१७ र यू–१९ छात्र तथा छात्रा गरी चार मुख्य इभेन्टमा प्रतिस्पर्धा भइरहेको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । प्रतियोगिताले विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । फिट नेपाल स्पोट्र्सप्लेक्स र मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनको मुख्य नारा “रोड टु ओलम्पिक” रहेको छ ।